अविरल वर्षाका कारण राजधानी प्रवेश गर्ने दुई प्रमुख राजमार्ग अवरुद्ध भएको छ।
पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्डअन्तर्गत चितवन र धादिङको सिमानामा पर्ने धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङ खोला नजिकै माथिबाट झरेको लेदोले सडक पुरिएपछि आज दिउँसो साढे १२ बजेदेखि सडक अवरुद्ध भएको हो । डोजर लगाएर लेदो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । लेदो झरेर सडक अवरुद्ध भएपछि सवारी साधनबीच बाटैमा रोकिएका छन् । सो स्थानमा पानी परेपछि माथिबाट आएको लेदोले पटक–पटक सडक अवरुद्ध गर्दै आएको छ ।
यस्तै, गए रातिदेखि परेको अविरल वर्षाले हेटौँडाबाट कुलेखानी हुँदै काठमाडौँ जाने फाखेल र सिस्नेरीको विभिन्न स्थानमा पहिरो जाँदा आज बिहानदेखि हेटौँडा–कुलेखानी सडकखण्डको यातायात सेवा अवरुद्ध भएको छ । मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार आजै बिहान हेटौँडा कुलेखानी हुँदै काठमाडौँतर्फ जाने सबै सवारी साधन भैँसेस्थित त्रिभुवन राजपथबाटै सञ्चालनमा ल्याइएको छ । फाखेलको महालक्ष्मी पुलनजिक र सिस्नेरीका विभिन्न स्थानमा पहिरो जाँदा हेटौँडा–कुलेखानी यातायात सञ्चालनमा अवरोध भएको हो । यसैबीच त्रिभुवन राजपथको बागझोरामा आज बिहान ९ बजेपछि आएको बाढीले हेटौँडा–काठमाडौँको यातायात सेवा पनि अवरुद्ध भएको उक्त कार्यालयले जनाएको छ ।
हेटौँडाबाट भैँसे, भीमफेद, दामन र पालुङ जाने सवारीसाधन बागझोरामै रोकिरहेको भैँसेस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ । आज दिउँसो मौसममा सुधार भए डोरबारबाट पहिरो हटाई बागझोरामा यातायात सञ्चालन गर्ने तयारी भइरहेको प्रजिअ आस्मान तामाङले जानकारी दिए।