लगातारको वर्षाले मुलुकभरकै जनजीवन प्रभावित बनेको छ । राजधानी उपत्यका लगायत देशैभर भइरहेको वर्षाले ग्रामीण सडक अवरुद्ध बनाएको छ भने ठाउँ-ठाउँमा पहिरो गएको छ । देशैभर परेको पानीले केहीलाई राहत भएको छ कहीं आहत । अविरल वर्षाकै कारण प्राकृतिक प्रकोपको सम्भावना रहेको भन्दै मौसमविद्हरुले सतर्क रहन सुझाएका छन् । देशैभर कहाँ के-भए पछिल्लो अपडेट ।
तीन दिनदेखिको अविरल वर्षाले तराई–मधेसका अधिकांश क्षेत्र डुबानमा परेका छन् । पानी निकास नहुँदा जनकपुर डुबानमा परेको छ । प्रदेश २ को मुख्यमन्त्री कार्यालय, जनकपुर अञ्चल अस्पताल, जिल्ला प्रहरी कार्यालय, संघीय प्रहरी कार्यालय, जिल्ला हुलाक कार्यालय, आन्तरिक राजस्व कार्यालयलगायत दर्जनौं सरकारी कार्यालय डुबानमा परेको छ ।
यस्तै वर्षाले जनकपुर उपमहानगरका १, २, ३, १०, ११ लगायत वडाका घर पनि जलमग्न भएका छन् । पिडारी चोक, नमुनाबस्ती, मुजेलिया, विश्वकर्मा चोक, सरन्चिया चौरी, माछा बजार, बसपार्क, पुलचोक, सीता चोक, कदम चोकलगायत स्थानमा निकास नहुँदा घर–घरमा पानी पसेको हो । पिडारी चोकको नमुना बस्तीमा ४ फिटसम्म पानी जमेको छ । हालसालै बनाइएका जनकपुरका सडकहरू पनि जलमग्न छन् । ग्रामीण क्षेत्रका सडकहरु हिलाम्मे बनेका छन् ।
पूर्वपश्चिम राजमार्ग अवरुद्ध
भारी वर्षासँगै आएको बाढीका कारण पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । रौतहटको लाल बकैया नदी बन्जरहा बाँध फुटाएर सडक हुँद बस्ती पसेको छ । बाढीले बन्जरहा, औरैया, बेलबिछ्वा, बडहरवासहित करिब आधा दर्जन बस्ती डुबानमा परेको छ । सडक अवरुद्ध भएपछि पूर्वबाट पश्चिम आउँदै गरेका र पूर्वतर्फ जाँदै गरेका सवारीसाधान र यात्रु बाटैमा अलपत्र परेका छन् ।
पाल्पा–बुटवल खण्डमा पहिरो
लगातारको वर्षाले पहिरो खसेर अवरुद्ध सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल खण्ड एकतर्फी सञ्चालन भएको छ । बिहीबार बेलुका राजमार्गको सिद्धबाबा नजिकैको हेडबक्समा र बिहान केराबारी क्षेत्रमा ठूला ढुंगासहितको पहिरो खसेको प्रहरीले जनाएको छ ।
मोरङमा बाढीले एकलाई बगायो
बाढीले मोरङमा बाढीले बगाउँदा एक जना बेपत्ता भएका छन् । उनको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ ।
रंगेली गेउरिया खोलाको डाइभर्सन बाढीले बगाएपछि तर्ने क्रममा बिहीबार साँझ डाइभर्सनसँगै मोटरसाइकलमा रहेका एक व्यक्तिलाई खोलाले बगाएको हो । प्रहरीका अनुसार उनको खोजी जारी छ ।
सतर्क रहन मौसमविद्को सुझाव
यसैबीच मौसम पूर्वानुमान महाशाखाले देशका २५ जिल्लामा साताभर मेघ गर्जनसहित पानी पर्ने भविष्यवाणी गरेको छ । सक्रियता बढाउँदै गएको मनसुनले देशभर आफ्नो फैलावट बढाइसकेको अवस्थामा २५ जिल्लामा पानी बढी पर्ने महाशाखाले जनाएको हो । भविष्यवाणी गरेको हो । यो बेला खाद्यान्नका बीउ र मानिसको जीउ जोगाउन सतर्क रहनुपर्ने मौसमविद्हरू बताउँछन् ।
जोखिममा गाईघाट बजार
निरन्तरको वर्षाले बरुवा नदीको बहाव बढ्दै जाँदा उदयपुरको त्रियुगा नगरपालिका ११, शिवालय टोल तथा साकेलाटोल क्षेत्रमा निर्माण गरिएको बरुवा नदीको बाँध भत्कन थालेपछि गाईघाट बजार जोखिममा परेको छ । बाढीले बाँधको पुरानो संरचना खोल्न थालेको र ढुंगा बगाउन थालेपछि बाँध फुट्ने अवस्थामा पुगेको शिवालय टोलकै कनक कार्की बताउँछन् । यसअघि पनि २०३१, २०३९ र २०५७ सालमा भत्किएको नगरपालिका ११ का ८१ वर्षीय महलशेर राई बताउँछन्।
सिद्धिचरण लोकमार्गमा यातायात ठप्प
सिद्धिचरण लोकमार्गअन्तर्गत उदयपुरको कटारी नगरपालिका १४ को भदौरेखोलामा निरन्तर आएको वर्षाले सडकमा बालुवा तथा ढुंगामाटो थुपारेपछि कटारी १४ बेतिनी र घुर्मीबीच क्षेत्रमा यातायात सेवा अवरुद्ध भएको छ । प्रहरीका अनुसार सिद्धिचरण लोकमार्ग क्षेत्रमा भदौरेखोला खण्डमा बाढीले ढुंगा, बालुवालगायत अन्य वस्तु थुपारेपछि सडक अवरुद्ध बनेको थियो ।
पहिरोले बीपी र मध्यपहाडी राजमार्ग अवरुद्ध
सडकमा पहिरो खसेपछि बिहीबार रातिदेखि बीपी राजमार्ग र मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । गोलन्जोर र सुनकोसी गाउँपालिकामा राजमार्ग अवरुद्ध भएको हो ।
गएराति गोलन्जोर गाउँपालिका ५, सोलाभञ्याङ र खनियाखर्कको बीचमा सडकमा माथिबाट पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको प्रहरीको भनाइ छ।
यस्तै सुनकोसी गाउँपालिका १, कमरेमा पनि पहिरोले बीपी राजमार्ग अवरुद्ध भएको छ । यसैबीच माथिबाट खसेको पहिरोले गोलन्जोर गाउँपालिकाअन्तर्गत मध्यपहाडी लोकमार्ग पनि अवरुद्ध भएको छ । अवरुद्ध राजमार्ग हटाई सवारी आवागमन सञ्चालन गर्न गाउँपालिका अध्यक्षसँग समन्वय भइरहेको छ ।
बाटैमा यात्रु अलपत्र
उदयपुरको मानेभन्ज्याङ गाउँपालिका ६ मा पर्ने भाडारे खोलामा बाढी आउँदा २ दिनदेखि यात्रुहरु घुर्मी बजारमै अलपत्र छन् ।
त्यसैगरी उदयपुर र सिन्धुलीको सीमामा पर्ने बादुरा खोलाको बाढीले काठमाडौंतर्फ आउने सवारी साधन पनि घुर्मीमै रोकिएका छन् । अधिकांश यात्रु सोलुखुम्बु, खोटाङ र ओखलढुंगाबाट काठमाडौंतर्फ आउने-जाने छन् ।
बगेर युवक बेपत्ता
मोरङको रंगेलीमा गेउरिया खोलाको डाइभर्सन बगाएपछि सवारीसाधन आउजाउ रोकिएको छ । मोटरसाइकलमा सवार एक युवक उक्त स्थानमा बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ । उनको खोजी भइरहेको छ । अन्दाजी ३० वर्षका उनको पहिचान खुलेको छैन ।
विराटनगर महानगरपालिका वडा १, २ मा सिंगिया खोला आसपासका जोखिममा परेका सय परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।
लगातारको वर्षाले सिंगिया, बक्राहालगायत खोलाहरुमा बाढी आएको छ ।
बगेकी महिलाको उद्धार
यसैबीच मोरङको उर्लाबारी र दमकबीच बग्ने मावा खोलामा आएको बाढीमा बगेकी एक महिलालाई प्रहरीले उद्धार गरेको छ । बाढीमा बगेर आएको दाउरा खोज्ने क्रममा बगेकी स्थानीय ४६ वर्षीया सुमित्रामाया कुमाललाई स्थानीय बासिन्दाको सहयोगमा उद्धार गरिएको हो ।
सदरमुकाम जोड्ने सडक अवरुद्ध
रामेछापको सदरमुकाम जोड्ने खुर्कोट-मन्थली खण्ड पहिरोले बिहानैदेखि अवरुद्ध भएको छ । खुर्कोटको सुनकोसी पुल नजिक र मन्थली नगरपालिका ६, कुनौरीमा झरेको पहिरोले यातायात अवरुद्ध भएको छ ।
हिले-भोजपुर खण्ड पनि अवरुद्ध
अविरल वर्षाले मध्यपहाडी लोकमार्गअन्तर्गत हिले-लेगुवा-भोजपुर खण्डमा यातायात अवरुद्ध भएको छ । धनकुटाको पाख्रिबासदेखि लेगुवा खण्डमा पर्ने माङ्माया खोलामा पुल भन्दा माथिबाट बाढी आएपछि यातायात अवरुद्ध भएको हो ।
धनकुटाका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् । पाख्रिबास नगरपालिका ५ स्थित डिकुरे क्षेत्रमा करिब ५ किमि सडकमा फसेका सवारीसाधन डोजरको सहायताले उद्धार गरिएको प्रहरीले जनाएको छ ।
डुबानग्रस्त क्षेत्रमा उच्च सतर्कता
अविरल वर्षाले कर्णाली र चुरेबाट उत्पन्न नदीमा जलस्तर बढेका छन् । अविरल वर्षाकै कारण बाढी, पहिरो आउँछ कि भन्ने त्रासमा स्थानीय छन् । स्थानीय प्रशासनले प्रभावित क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आहवान गरेको छ । सर्वसाधारणलाई बाढी आए कसरी जोगिने भन्ने पिरलो पनि छ ।
चुरेबाट उत्पन्न भएका मोहना, कान्द्र्रा काँडा, खुटिया नदी र कर्णालीको जलस्तर खतराको नजिक पुगेका छन् । चुरेको गोदावरीदेखि बग्ने मोहनाको जलस्तर १ मिटर ५ सेन्टिमिटर पुगेको छ । ३ दशमलव ५ मिटर पुगेपछि प्रभावित बस्तीमा खतराको घण्टी बज्ने गर्छ । मोहना नदीमा अरु पनि मिसिने गरेका छन् । मोहना कर्णालीमा मिसिन्छ । यो जिल्लाको सबैभन्दा लामो नदी हो । यसमा आएको बाढीले कैलालीका गोदावरी र धनगढी उपमहानगरका केही वडासहित कैलारी गाउँपालिका र भजनी नगरपालिकाको अधिकांश क्षेत्रलाई डुबानमा पार्ने गरेको छ । कान्द्र्रा, काडा, खुटिया, गौरीगंगालगायत नदीमा पनि जलस्तर बढदै गएको छ ।
घेराबन्दीमा बस्ती
कैलालीको स्थानीय नदीमा आउने बाढीले भजनीको लालबोझीसहित दर्जन बस्ती घेराबन्दीमा पर्ने गरेका छन् । लालभोझीलाई मोहना र कान्द्र्रा नदीले टापु बनाएको छ । त्यस्तै मोहना नदीपारिका हौसलपुर, शिवरत्नपुर र मोहनपुर बस्ती पनि घेराबन्दीमा पर्छन् । बाढी घटेपछि उनीहरू डुंगा प्रयोग गरी आउजाउ गर्छन् । बर्खाअघि उनीहरू बस्तीको बीचबाट बग्ने नदीमा काठे पुल र साँघु हालेर वारपार गर्छन् । काठेपुल बगाएपछि डुंगाको प्रयोग गरिन्छ । बाढीका बेला त यो पनि ठप्प हुन्छ ।
पहिरोले सडक अवरुद्ध
तीन दिनदेखिको अविरल वर्षाले बाजुराका विभिन्न ठाउँमा पहिरो खसेको छ । पहिरोले साँफे-मार्तडी राजमार्ग अवरुद्ध भएको छ । यो खण्डमा पर्ने बार्जुगाड खोला हुँदै मार्तडी पुग्ने सडकका विभिन्न ठाउँमा पहिरो खसेको छ ।
साँफे-मार्तडी खण्डमा पर्ने अछामका बुढाबगरलगायत ठाउँमा पनि पहिरो गएको छ ।
यस्तै मार्तडी-कोल्टी सडक पनि झन्डै साता दिनयता अवरुद्ध छ ।
जोखिममा विद्यालय
बैतडीको दोगडाकेदार गाउँपालिका ३, श्रीकोटको सुनखोला र भुल्यौडाका बासिन्दा पानी पर्न थालेसँगै तनाव पनि सुरु हुन्छ । बस्तीमै पहिरो खस्छ कि भनेर यहाँका ३ सय परिवार वर्षासँगै त्रासमा बाँच्न बाध्य छन् । १६ वर्षअघि यही बस्तीमा पहिरो जाँदा एकै परिवारका ६ जनाको मृत्यु भएको थियो । वर्षासँगै यहाँका बासिन्दालाई पहिरो र दुई गाउँबीचको सुनखोलाको डर हुन्छ । २ गाउँसँगै रहेको बलैराज आधारभूत विद्यालय पहिरोको उच्च जोखिममा छ । २२१ विद्यार्थी र ९ शिक्षक रहेको विद्यालयको तलबाट जम्मै पहिरो गएको छ । विद्यालयको चारैतिर कुनेबेला पनि पहिरो खस्ने जोखिम छ ।