महोत्तरी र सर्लाही जिल्लाको सीमामा बग्ने बाँके खोलामा बालुवा, गिट्टी उठाउन क्रसर उद्योगले खनेको खाल्डोमा डुबेर ईश्वरपुर नगरपालिका–१३ का १२ वर्षीय अमित कुमार रायको मृत्यु भयो। नगरवासीका विरोधका बाबजुद नगरपालिकाका र स्थानीय प्रशासनको मिलेमतोमा क्रसर उद्योगले खेनेको ३० फिट गहिरो खाल्डोमा डुबेर अमितको मृत्यु भएपछि स्थानीय आन्दोलित भए।
क्षतिपुर्ती तथा न्यायको माग गर्दै करिब ५ सयको संख्यामा उनीहरु अमितको शव लिएर पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्न पुगे। ‘बालक डुबेको २४ घण्टापछि हामी आफैँले कुलो खनेर पानी बगायौँ अनिमात्र बालको शव भेटेको थियो,’ वडाध्यक्ष रामकरण महतोले भने, ‘आउने दिनमा यस्ता घटना नदोहरियोस्, अवैध उत्खनन् रोकियोस् र क्षतिपूूर्तिको माग गर्दै हामीहरु शान्तिपूर्ण रुपमा आन्दोलन गरेका थियौँ।’
स्थानीयले शव लिएर प्रदर्शन गर्दै राजमार्ग अबरुद्ध गर्न पुग्ने खबर प्रहरीले पहिले नै पाइसकेको थियो। स्थानीय राजमार्गमा पुग्नु अगाबै सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको थियो। दिउँसो करिब दुई बजे स्थानीयले राजमार्ग अबरुद्ध गरी प्रदर्शन गर्न थाले। त्यसपछि प्रहरीले उनीहरुलाई बाटो खोल्न आग्रह ग¥यो। क्षतिपुर्ती र न्याय नपाउन्जेल बाटो नखोल्ने स्थानीयले अडान लिए। प्रहरीले दोस्रो पटक कडा रुपमा प्रस्तुत हुँदै जाम नखोले गोली चलाउने चेतावनी दियो। तर फेरी पनि स्थानीयले आफ्ना माग पुरा नहुन्जेल सडक नखोल्ने अडानमा टसमस भएनन्।
दोस्रो चेतावनीपछि पनि स्थानीय नहटेपछि सडक छेउमै महिलाहरु बसेको टेण्ट खसालेर प्रहरीले कपडामाथिबाट अन्धाधुन लाठी चार्ज गर्न थाल्यो। जवाफमा स्थानीयले सडकबाट गिट्टी उठाउँदै प्रहरीमाथि हान्न थाले। स्थानीयले गिट्टीले प्रहार गरेको पाँच मिनेट नबित्दै प्रहरीले आश्रु ग्यास प्रहार गर्न थाल्यो। आश्रु ग्याँसले स्थानीय भागाभाग गर्न थाले। त्यतीकैमा पुर्व–पश्चिम राजमार्ग भन्दा करिब १०० मिटर पश्चिम पुगिसकेका प्रदर्शनकारीमाथि प्रहरीले पछाडिबाटै गोली प्रहार ग¥यो। र, प्रहरीको गोली सरोजको टाउकोमै गएर लाग्यो। प्रहरीको गोली लागेर सरोजको मृत्यु भयो भने तीनजना घाइते भए।
‘प्रदर्शन गरेको २० मिनेटमै प्रहरीले अन्धाधुन्ध गोली हान्यो। करिब ३०÷३५ राउण्ड गोली चल्यो,’ गोली लागेर घाइते भएका राजकुमार महराले भने। ‘डिएसपी नेतृत्वको टोली आएर तपाईँहरु हटनुस् अन्यथा हामी कार्वाहीको पक्षमा जान्छौँ भनेको १ मिनेटमै एक्कासी प्रहरीले लाठी चार्ज गर्न थाले,’ स्थानीय सरोज खडकाले भने, ‘हामी चोट खप्न नसकेर निर्माण भइरहेको सडकबाट मसिनो गिट्टी हान्न थाल्यौं केही बेरमै हामी थाकेर फर्किन थालेका थियौँ तर १५÷२० जना उहीँ थिए उनीहरुमाथि गोली बर्सिन थाल्यो।’
प्रहरीले मधेसी अनुहार हेरेर गोली चलाएको स्थानीयहरुको आरोप छ। ‘अन्य ठाउँमा पानीको फोहोरा छर्किन्छ तर हामीलाई लाठी चार्ज गरेपछि गिट्टी हान्न साथ प्रहरीले गोली फर्कायो, यसलाई विभेद नभनी के भन्ने?,’ स्थानीय नन्दकिशोर सिंहले प्रश्न गरे।
लोकतन्त्रमा आन्दोलन गर्ने अधिकार हुन्छ तर शान्तिपूर्ण आन्दोलन गरेकै भरमा टाउकोमा गोली हान्ने सरकारले कस्तो लोकतन्त्रको परिकल्पना गरेको छ स्थानीय भरत खडकाले प्रश्न गरे। ‘शान्तिपुर्ण आन्दोलन गर्न पुगेको आधा घण्टा नबित्दै प्रहरीले घेरा हालेर बिना कुनै चेतावनी हामी माथि गोली चलायो। यो लोकतन्त्रको मजाक उडाएको होइन?,’ उनले भने। प्रहरीको गोलीले गाउँ नै त्रासमा डुब्यो। सुरक्षा दिने प्रहरी नै भक्षक सावित भएपछि तर्सिएका पूरै गाउँ अहिले शोकाकुल छ।
दुई वर्षमै उजडियो रंगीलाकी सिँउदो
तामझाका साथ दुई वर्षअघि १९ वर्षीया रंगिला सिंहको बिहे सरोजसँग भएको थियो। उनीहरुको दाम्पत्य जीवन एकदमै सुमधुर बितिरहेको थियो। माया पनि एकदमै गहिरो थियो। बिहे भएको १६ महिनापछि छोरा पाए। रंगिलाको छोरो अहिले ८ महिनाका छन्। तर, उनले बुवाको माया र स्नेह भने पाउन सकेनन्।
रंगिलालाई जीवनभर साथ दिने सरोजको वाचासामु प्रहरीको गोली शक्तिशाली सावित भयो। रंगिला अहिले एक्ली भएकी छन्। उनलाई अब ८ महिने अवोध बालकको लालन पालनको समस्या भएको छ। श्रीमान संगको सुनौलो भविश्यको सपना बुनेकी रंगिला अहिले बोल्न सक्ने अबस्थामा छैनन्।
भक्कानिँदै सरोजका बुवाले भने–न्यायको आशामा छु
सरोजका ६६ वर्षीय बुवा जीवछ नारायण सिंहको आँखाबाट आँसु रोकिएको छैन। परिवारमा रुवावासी चलेको छ। आमा उर्मिला पनि होसमा छ्रैनन्। तर परिवारलाई सम्हाल्दै जीवछ न्याय पाउने आशमा छन्।
जीवछ न्यायका लागि नेताहरुले पहल गर्ने विश्वास्त छन्। ‘हामी माथि ठूलो अन्नयाय भएको छ। नेताहरुले नै न्यायका लागि पहल नगर्ने हो अब हामी आफैले केही गर्न सक्दैनौ। हामीलाई आशा छ छिट्टै न्याय पाउछौँ,’ भक्कानिदै जीवछले भने। दुई छोराका बाबु जीवछले आर्थिक स्थिति कमजोर भएका कारण कान्छो छोरो सरोजलाई वैदेशिक रोजगारका लागि मलेशिया पठाएका थिए। छोरोको बिहे गर्ने उमेर भइसक्यो भनेर उनले दुई वर्षअघि मात्रै बिहेका लागि घर फर्कन भनेका थिए। र, सरोज फर्केपछि उनको विवाह भएको थियो ।