धनुषामा एक किशोरीलाई जलाईरहेको अवस्थामा सात जना पक्राउ परेका छन् । सबैला नगरपालिका १ बस्ने शत्रुधन यादवकी १४ वर्षीय छोरी पिंकीकुमारी यादवको रहस्मय मृत्यु भएपछि सोमबार साँझ करिब ७ बजे किशोरीलाई जलाएको आरोपमा प्रहरीले सात जना मलामीलाई पक्राउ गरेको हो ।
झुन्डिएर पिंकीको मृत्यु भएको भन्दै प्रहरीलाई जानकारी नदिई जलाइरहेका व्यक्तिहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक उमाशंकर साहले जानकारी दिए । घरभन्दा २ किलोमिटर टाढा सडक छेउमा उनको शव जलाइरहँदा प्रहरीले देखेपछि जलाउनेहरुलाई नियन्त्रणमा लिएको उनले बताए ।
शव जलाउने क्रममा प्रहरीको गाडी आइरहेको दखेपछि मलामीको भागाभाग भएको थियो । प्रहरीले मृत किशोरी पिंकीकी बुवा शत्रुधन यादवलाई समेत नियन्त्रणमा लिएको छ । करिब सम्पुर्ण जिउ नै जलिसकेको अवस्थामा प्रहरीले शव बरामद गरेको थियो ।
शव पोष्टपार्टमका लागि जनकपुर अञ्चल अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ । घटनामा पिंकीको हत्या वा आत्महत्याबारे अनुसन्धान भइरहेको भन्दै प्रहरी निरिक्षक साहले बताए ।