धनुषाको मिथिला नगरपालिका स्थित प्रहरी चौकी लालगढको प्राङ्गणमा प्रहरीले ‘केनाइन’ शाखाको स्थापना गरेको छ ।
२ नं. प्रदेश अन्तर्गतका जिल्लाहरुमा हुने अपराध तथा अपराधिक गतिविधिको न्यूनिकरण र नियन्त्रण, जघन्य प्रकृतिका अपराध अनुसन्धान तथा अति विशिष्ट र विशिष्ट व्यक्तिहरुको कार्यक्रम स्थलको सुरक्षा लगायत अन्य प्रहरी कार्यमा सहजताको लागि मंगलवार केनाइन शाखाको स्थापना गरिएको हो ।
उक्त केनाइन शाखामा हाल ४ वटा तालिम प्राप्त कुकुरहरु रहेको, उक्त कुकुरहरुको प्रयोग यस प्रदेश अन्तर्गतका जिल्लाहरुमा घटित अपराध अनुसन्धान कार्यमा ट्रयाकिङ्ग (अपराधीको खोजी), बिष्फोटक पदार्थ, लागूऔषधको पहिचान तथा अति विशिष्ट र विशिष्ट व्यक्तिहरुको कार्यक्रम स्थलको सुरक्षा लगायतका कार्यमा प्रयोग गर्न सकिने प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।