गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको आग्रहमा विजयपुर खोलामाथि मंगलबार डाइभर्सन बन्ने भएको छ । पोखरा अन्तर्राष्ट्रिय एयरपोर्ट निर्माणमा जुटेका चिनियाँहरुले मुख्यमन्त्रीको आग्रहमा १ दिनमै डाइभर्सन बनाउने भएका हुन् ।
आइतबार राति बगेको डाइभर्सन भएकै ठाउँमा अझै बलियो बाटो बनाउन सोमबार रातिदेखि नै सामान झार्न सुरु गर्ने चिनिया अधिकारीले मुख्यमन्त्रीलाई बचन दिएका छन् । मुख्यमन्त्रीले सोमबार साँझ विजयपुर पुगी बगेको डाइभर्सनसमेत अवलोकनसहित चिनियाहरु कुराकानी गरेका थिए ।
मुख्यमन्त्री गुरुङले बेलिब्रिज बन्न सोचेभन्दा अझै समय लाग्ने देखिएको हुँदा तुरुन्तातुरुन्तै डाइभर्सन बनाउन आग्रह गरिएको समाधानलाई बताए । एयरपोर्टको चिनिया निर्माण कम्पनीका प्रोजेक्ट कोअर्डिनेटर अभिषेक उलकले मंगलबार एकाबिहानैबाट काम सुरु गर्ने जानकारी दिए । मंगलबार साँझसम्म तयार पारिने भनिएको डाइभर्सन टिकाउ पनि हुने उनले बताए । ‘सेती नहरबाट विजयपुर खोलामा मिसिएको पानी घटाएर काम सुरु गर्छाैं,’ उनले भने, ‘बेलिब्रिज नबन्दासम्म टिक्नेखालको हुनेछ ।’
१० वर्ष पहिला बनेको पक्की पुल जीर्ण भएपछि त्यहाँबाट १० टन भन्दा बढी भार भएका गाडी वारपारमा रोक लगाइएको छ । त्यसको विकल्पमा डाइभर्सन बनाइएको थियो । त्यो डाइभर्सन पनि बाढीले बगाइदिएपछि ठूला गाडी रोकिएका छन् ।