उमेरको हदसम्म पेशाको ग्यारेन्टी र औषधी उपचारको व्यवस्थाको माग गर्दै अस्थायी शिक्षकहरुले आन्दोलन शुरु गरेका छन्।
जीवनको महत्वपुर्ण समय अध्यापनमै खर्चिए पनि बुढेशकालमा सरकारले आफुहरुको रोजगारी खोसेको भन्दै अस्थायी शिक्षक आन्दोलन परिचालन समितिका सदस्यहरु प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय अगाडि धर्नामा बसेका हुन्।
बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म शिक्षकहरु धर्नामा बसेका थिए। संघीय सरकारको गलत नीतिका कारण प्रदेश २ का करिव १ हजार २ सय शिक्षक बेरोजगार भएको समितिका संयोजक धमेन्द्र कुमार यादवले बताए।
‘संविधानको धारा ३३ मा मौलिक हक अन्तर्गत रोजगारीको व्यस्था गरिएको छ तर सरकारको गलत नीतिका कारण हामी बुढेशकालमा सडकमा आन्दोलन गर्न वाध्य भएका छौँ,’ उनले भने। असार २२ गतेसम्म धर्नामा बस्ने र त्यसपछि पनि माग पूरा नभए कडा आन्दोलन गर्ने समितिले चेतावनी दिएको छ।