जीवन बिमा कम्पनीबाट २५ लाख रुपैयाँ पाउने लोभले ४ वर्षीया छोरी हत्या गर्ने बाबु पक्राउ परेका छन् ।
प्रहरीका अनुसार रौतहटको मौलापुर नगरपालिका ६, पथरा बुधरामका रामकिशोर राय यादवले ४ वर्षीया छोरी लक्ष्मीकुमारीको हत्या गरेका हुन् । घरमा सुतिरहेकै अवस्थामा असार १७ गते हराएकी लक्ष्मीको शव भोलिपल्ट बिहान घरनजिकैको पोखरीमा भेटिएको थियो ।
प्रहरीले अनुसन्धान गर्ने क्रममा राम किशोरको गतिविधि शंकास्पद लागेपछि नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । हत्या गर्ने र बिमाको रकम निकाल्ने योजनाअनुसार रामकिशोरले गरुडाको प्रभु लाइफ इन्स्योरेन्स कम्पनीमा जेठ १९ गते छोरीका नाममा २५ लाखको बीमा गराएको अनुसन्धानबाट खुलेको छ ।
रामकिशोरले पनि राति आमासँगै सुतिरहेकी छोरी बोकेर लगेको र नाक-मुख थुनेर हत्या गरी पोखरीमा फालेको स्वीकारेका छन् । बिमा गरेको १ महिनाभित्र बिमितको मृत्यु भए दोब्बर रकम भुक्तानी पाउने कुरा सुनेकाले यसो गरेको उनले प्रहरीसमक्ष बयान दिएका छन् ।