म्याग्दे गाउँपालिका ६, तनहुँका ज्येष्ठ नागरिकलाई वडा कार्यालयले बुढेसकालको साथीका रूपमा लौरी वितरण गरेको छ ।
वडाभित्रका ८० वर्ष उमेर कटेका ८० ज्येष्ठ नागरिकलाई ‘आल्मुनियम फोल्डिङ स्टिक’ वितरण गरिएको हो । ज्येष्ठ नागरिकलाई राज्यले सामाजिक सुरक्षाभत्ता दिए पनि उक्त भत्ता लिन बैंकसम्म जान पनि समस्या रहेको हुँदा हिँड्डुलमा सहयोग पुगोस् भन्ने उद्देश्यले लौरी प्रदान गरिएको वडाध्यक्ष बसन थापाले जानकारी दिए ।
उनका अनुसार लौरीको सहायताले हिँड्डुल गर्दा ज्येष्ठ नागरिकको स्वास्थ्यमा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ । उक्त लौरी पोखराबाट प्रतिथान १२ सय रुपैयाँमा खरिद गरिएको हो । उक्त लौरी हिँड्डुल नगर्दाको समयमा फोल्डिङ गरी झोलामा राख्न मिल्छ । वडासदस्य निर्मला वाग्लेका अनुसार ज्येष्ठ नागरिकको सम्मान स्वरुप गत वर्ष चरसको थाल वितरण गरिएकामा यस वर्ष लौरी वितरण गरिएको हो ।
लौरी पाएपछि ८२ वर्षीय बुद्धिबहादुर थापाले अब हिँड्डुलमा सहज हुने बताए । लौरी नहुँदा घर वरपर हिँड्न पनि समस्या हुने गरेको सुनाउँदै उनले लौरीको सहायताले बैंकसम्म पुग्न सहज हुने बताए । अधिकांश ज्येष्ठ नागरिक काठको लौरी प्रयोग गर्न बाध्य छन् । काठको लौरी केही महिनापछि भाँचिने र अर्काको लौरी खोज्न वा बनाउन पनि समस्या पर्ने हुँदा दुःख पाउने गरेको उनीहरुको गुनासो छ । -रासस