धादिङको बेनीघाट रोराङ गाउँपालिका ८ का वडासदस्य रामजी चेपाङको टाउकोमै गोली प्रहार गरिएको छ । गोली लागी सख्त घाइते चेपाङलाई उपचारका लागि काठमाडौंस्थित नर्भिक अस्पतालमा पुर्याइएको छ ।
गोठीभञ्जयाङस्थित आफ्नै घरमा खाना खाइरहेको अवस्थामा उनमाथि बुधबार राति गोली प्रहार गरिएको थियो ।
चितवनको राप्ती नगरपालिका १३, गाम्दाका इन्द्रबहादुर चेपाङले गोली प्रहार गरेको वडासदस्य रामजीको परिवारको आरोप छ । २ महिनाअघि गाम्दामा सञ्चालित कुमार चेपाङ छात्रावासमा बस्ने २ चेपाङ किशोरीलाई बलात्कार प्रयासपछि मुद्दा लागेर फरार रहेका इन्द्रले नै भरुवा बन्दुकले गोली प्रहार गरेको प्रहरीको सुरुवाती आकलन छ ।