गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको प्रक्रिया आरम्भ गर्न सम्बन्धित संस्थालाई आग्रह गरिएको छ ।
रंगशाला निर्माण सहयोग समिति चितवनको बुधबार बसेको सचिवालय बैठकले धुर्मुस-सुन्तली फाउन्डेसनलाई निर्माण प्रक्रिया सुरु गर्न आग्रह गरेको हो । यही जेठ १५ गते रंगशाला निर्माणका क्रममा लगाएको बार स्थानीय बासिन्दाले भत्काएपछि फाउन्डेसनले काम रोकेको छ ।
समिति संयोजक तथा जिसस चितवन प्रमुख कृष्णकुमार डल्लाकोटीले स्थानीय बासिन्दासँगको विवाद टुंगो लागिसकेकाले फाउन्डेसनले काम अघि बढाउनुपर्ने बताए । रंगशाला निर्माणको काम सुरु भएसँगै आर्थिक संकलनका लागि समितिले प्रक्रिया अगाडि बढाउने उनले बैठकमा जनाएका थिए ।
बैठकमा मानवअधिकार कानुन तथा न्यायिक समिति सभापति कृष्णभक्त पोखरेलले रंगशाला निर्माणका लागि चितवन एकताबद्ध भएको बताए । उनले काममा आउन फाउन्डेसनलाई आग्रहसमेत गरे । यहाँ निर्माण हुन लागेको रंगशाला महानगरको मात्रै नभएर समग्र जिल्लावासीकै गौरवको आयोजना भएको भन्दै उनले सबैले मिलेर निर्माण पूरा गर्न आवश्यक रहेको बताए ।
यसैगरी प्रदेश सदस्य घनश्याम दाहाल, विजय सुवेदी, कृष्ण भुर्तेललगायतले केही साना समस्या देखिए पनि अहिले वातावरण तयार भइसकेको भन्दै फाउन्डेसनलाई काममा फर्कन आग्रह गरे । भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले महानगरभित्र बन्न लागेको रंगशाला देशकै गौरवको आयोजना भएकाले जिल्लावासी एक भएर लाग्नुको विकल्प नरहेको बताइन् ।
रंगशाला निर्माणका लागि वातावरण तयार भइसकेको र सुरक्षाको व्यवस्थासमेत गरिएकाले काम नरोक्न उनले आग्रह गरिन् । रत्ननगर नगरपालिका प्रमुख नारायण वन र माडी नगरपालिका प्रमुख ठाकुर ढकालले इतिहासबाट सिक्दै भविष्यमा कसरी अघि बढ्ने भन्ने विषयमा केन्द्रित हुँदै रंगशाला निर्माणको काम गर्नु आवश्यक रहेको बताए । भरतपुर महानगरपालिका १५, रामपुरमा निर्माण हुन लागेको रंगशालाका लागि जिल्लामा ५ हजार १ सदस्यीय सहयोग समिति गठन गरिएको छ ।
यस्तै जिल्लाका राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, सरकारी कार्यालय प्रमुख, निजी क्षेत्रका व्यवसायी संघ–संस्थाका प्रमुख एवं प्रतिनिधि रहेको ७२ सदस्यीय सचिवालय र १३ सदस्यीय आर्थिक सहयोग समिति गठन गरिएको बैठकमा जानकारी दिइयो ।
जिसस वा महानगरमा यसको सचिवालय सञ्चालन गरी काम तीव्र बनाइने डल्लाकोटीले जानकारी दिए । बैठकमा उद्योगी व्यवसायीले रंगशाला निर्माणका लागि निजी क्षेत्रले गरेको लगानी पारदर्शी हुने-नहुनेमा चिन्ता व्यक्त गर्दै निर्माण सुरु गर्न आग्रह गरेका थिए । त्रिभुवन विश्वविद्यालयको नाममा रहेको जग्गामा करिब ३ अर्ब रुपैयाँ खर्च गरी फाउन्डेसनको अगुवाइमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण प्रक्रिया अघि बढाइएको हो । -रासस