रुपन्देहीको गैडहवा गाउँपालिकाको प्रधानमन्त्री रोजगार कार्यक्रमका अधिकृत समेतको संलग्नतामा २ युवतीमाथि सामूहिक बलात्कार भएको खुलासा भएको छ। दुई युवतीलाई १२ युवाहरुले बलात्कार गरेका हुन् । असार २ गते राति ८ बजे भएको घटना ढिलो गरी सार्वजनिक भएको हो ।
घटना विवरणअनुसार गैडहवा गाउँपालिकाका दुई युवती शर्मिला र प्रमिला (नाम परिर्वतन) लाई स्थानीय विष्णु थारुले खाजा खान नजिकैको दलाल चोकमा बोलाए। बेलुका ५ बजे गएका २ युवती, विष्णु र विष्णुका साथीले होटलमा बियरसहित खाजा खाए। ८ बजेतिर घर फर्किन थाले।
प्रहरीका अनुसार बाटोमा दुवै युवाहरुले जबर्जस्ती गर्न थालेपछि प्रमिला भागेर नजिकैको हसनापुर गाउँमा पुगेर उद्धारका लागि गुहार मागेको स्थानीयले बताएका छन् । उनले आग्रह गरेपछि स्थानीय प्रकाश रिजालले अन्य ४ युवालाई पनि बोलाए। जसमा प्रधानमन्त्री रोजगार कार्यक्रमका अधिकृत जीवन ज्ञवाली पनि थिए । त्यसपछि प्रमिलासहित उनीहरु शर्मिला भएको स्थानतिर गए। तर बाटोमै उद्धारमा हिडेका युवाले प्रमिलालाई पनि छाडेनन्, जबर्जस्ती गरे।
प्रमिलालाई ४ जनाले र शर्मिलालाई ८ जनाले बलात्कार गरेको प्रहरीले जनाएको छ। सामूहिक बलात्कारपछि गम्भीर बनेका दुवै युवतीको सामान्य स्वास्थ्य उपचार भए पनि शर्मिलाको अवस्था अझै ठीक भएको छैन । उनलाई छिनछिनमा रिंगटा लाग्ने, खाना नखाने गरेका उनका आफन्तले बताएका छन् । गैडहवा गाउपालिका ९ का अध्यक्ष टेकबहादुर वलाले निकै गरिव परिवारका युवतीहरु अन्यायमा परेको भन्दै न्यायका लागि स्थानीय सरकारले पुर्णरुपमा पहल गर्ने बताए ।
यता घटनामा संलग्नहरु अधिकांश फरार छन् । पीडित युवतीहरुको भनाई उद्धृत गर्दै स्थानिय दुर्गाबहादुर थापाले जनाएअनुसार बलात्कारपछि पीडकहरुले घटना सार्वजनिक गरे ज्यान मार्ने चेतावनी दिए थिए । घटना विस्तारै सार्वजनिक भएपछि विष्णु थारु सहितका कतिपय युवाहरु भागेका छन् । घटनामा गैडहवाको प्रधानमन्त्री रोजगार कार्यक्रमका अधिकृत ज्ञवालीलाई भने युवतीहरुले किटानी जाहेरी दिएपछि हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।
उनलाई ईलाका प्रहरी कार्यालय लुम्बिनीमा राखिएको छ । घटनाका मुख्य अभियुक्त भनिएका विष्णु थारुका वुवा कात्लु थारु स्थानीय नेकपाका नेता हुन् । उनैको सम्लग्नतामा युवाहरु भगाईएको भन्दै स्थानीय गाउँलेले आक्रोश व्यक्त गरेपछि उनले ३ दिनभित्र छोरालाई प्रहरीमा बुझाउने प्रतिबद्धता जनाएका छन् ।
स्थानीयको चर्को विरोध भएपछि अधिकाश गाउँलेले घटनामा सम्लग्न सबैलाई कारवाही गर्नुपर्ने माग राखेका छन्। युवतीहरुले रातिको समय भएका कारण २,३ जनाबाहेक अरुलाई नचिनेको बताएका छन् । युवतीमध्ये एक जनाको श्रीमान साथमै रहेका छन् भने अर्कीको श्रीमानसंग सम्वन्धविच्छेद भएको छ । ईलाका प्रहरी कार्यालय लुम्बिनीको प्रमुख शंकर पोख्रेलले भँने घटनाको अनुसन्धान भैरहेको र केही दिनमा धेरै कुरा सार्वजनिक हुने बताए ।