लमजुङ र मनाङ जोड्ने एकमात्र म्यार्दीखोलामाथिको बेलिब्रिज बाढीले बगाएको छ । गत वर्षमात्रै निर्माण गरिएको पुल बगाएपछि मनाङसँग सडक सम्पर्क विच्छेद भएको छ ।
लमजुङ र मनाङ सिमानाको म्यार्दीखोलामा आइतबार दिउँसो एक्कासी आएको बाढीले म्यार्दीको पुल बगाएको स्थानीयले बताएका छन् । पुल बगाएपछि यात्रु अलपत्र परेका छन् भने, मनाङबाट लमजुङ आउँदै गरेका सवारी साधनहरू रोकिएका छन् ।
सडक निर्माण भएको एक दशकपछि हिमाली जिल्ला मनाङ जोड्न लमजुङ सीमा म्यार्दी खोलामा बेलिब्रिज निर्माण गरिएको थियो । यस्तै, तिमाङखोलाको छहरेमा राखिएको हृयुमपाइप सहितको अस्थायी काठे पुल बगाउँदा तिमाङ क्षेत्रबाट सवारीसाधन तल्लो क्षेत्र आउन र माथिल्लो क्षेत्र जान सकेका छैनन् । मनाङका डीएसपी टीकाबहादुर कार्कीका अनुसार दिउँसो पौने २ बजेतिर पुल बगाएको हो । दुईवटा पुल बगाएपछि तत्कालका लागि आवतजावत बन्द भएको उनले बताए ।
लमजुङका प्रमुख जिल्ला अधिकारी डिजन भट्टराईले मनाङबाट बग्ने मस्र्याङ्दी नदीको बहाव साबिकको भन्दा बढ्दै आएकोले मस्र्याङ्दी तीरमा बस्ने स्थानीयलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । पानीको बहाव बढ्दै गर्दा मस्र्याङ्दी नदी किनारमा नजान पनि उनले आग्रह गरेका छन् ।