सेवाग्राहीसँग ३६ हजार घुस रकम लिएका महोत्तरीको एकडारा गाउँपालिका–४ का वडासदस्य रामचन्द्र रायमाथि मुदा दायर भएको छ ।
वडा सदस्य रायले सेवाग्राहीसँग घुस लिएको पुष्टि भएपछि आइतवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो । गाउँपालिकाको बजेटबाट निर्माण हुने धर्मशालाको रकम निकासा गराउन सहज गराई दिने भन्दै सेवाग्राहीसँग घुस मागेपछि सूचना एवं उजुरीको आधारमा आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले उनलाई घुस रकम सहित रंगेहात पक्राउ गरेको थियो ।
वडा सदस्य रायले जिम्मेवारी र पदीय दायित्वसमेतको ख्याल नगरी बदनियतपूर्वक धर्मशाला निर्माणको रकम निकासालाई सहज गरिदिन र काममा अवरोध नगर्नका लागि सेवाग्राहीलाई घुस रिसवत दिन बाध्य पारेको अख्तियारले जनाएको छ ।
उनलाई बिगो रू.३६,००० कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ अन्तर्गत जरिवाना र कैद सजाय हुन मागदाबी लिई विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।