दार्चुलाको नौगाड गाउँपालिका २ का ३० वर्षीय शेरबहादुर बडालले अत्यधिक मदिरा सेवन गरी घरमै आगो लगाएका छन् । आफ्नै घरमा शनिबार राति शेरबहादुरले आगो लगाउँदा जलेर उनकी पत्नी विमलाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार शेरबहादुरले अत्यधिक मदिरा सेवनपछि घरमा आगजनी गरेका हुन् । घरमा उनका बुबाआमा तथा ३ छोराछोरी पनि बस्थे । आगोबाट उनीहरु भने सुरक्षित छन् । घरमा आगो लागिसकेपछि विमला भने सामान निकाल्न भन्दै भित्र पसेकी थिइन् । बाहिर निस्कन नसकेपछि त्यहीं जलेर उनको मृत्यु भएको हो ।
घरमा लागेको आगो स्थानीय बासिन्दाले रातभर लगाएर नियन्त्रणमा लिएका छन् । विमलाको शव परीक्षणका लागि जिल्ला अस्पताल लगिएको छ ।
प्रहरीले घरमा आगो लगाउने शेरबहादुरलाई पक्राउ गरेको छ । परिवारका अन्य सदस्यसँग पनि सोधपुछ भइरहेको प्रहरीले बताएको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।