सुकुम्वासीका घरमा विकल्प विना डोजर लगाएर १६ परिवारलाई सडकमा पुर्याएको विषयमा बुटवलका राजनीतीकदलहरुले गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । उनीहरुले बुटवल उपमहानगरपालिकाको यो निर्णयप्रति खेद प्रकट समेत गरेका छन् । बुटवल उपमहानगरपालिकाले डोजर लगाएर वस्ती भत्काइदिएपछि विस्थापित भएका १६ परिवारलाई तत्काल वैकल्पिक बसोबासको व्यवस्था गर्न पनि उनिहरुले माग गरेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस,सत्तारुढ समाजवादी पार्टीसहितका ६ राजनीतिक दलले बुटवल–१ मस्जिद टोलका १६ परिवारलाई बसोबासको वैकल्पिक व्यवस्था गर्न सम्युक्त विज्ञक्ती मार्फत माग गरेका हुन् ।ती दलले विस्थापितलाई वैकल्पिक व्यवस्था नगरेसम्म कर्भडहल निर्माणको काम अघि नबढाउन समेत माग गरेका छन् ।
नेपाली कांग्रेस बुटवल उपमहानगर उपसभापति विमलराज भट्टराई,समाजवादी पार्टी नगर अध्यक्ष बामदेव भुसाल,साझा विवेकशील पार्टीका सुदन ज्ञवाली,राप्रपाका निरजप्रताप खांण,क्रान्तिकारी माओवादीका विनोद मरासिनी र राष्ट्रिय जनमुक्ति पार्टीका हरिओम विकले विज्ञप्ति जारी गर्दै बुटवल उपमहानगरले ४८ वर्षदेखि बस्दै आएको ठाउंबाट वैकल्पिक बसोबासको व्यवस्था विना वर्षायाममा विपन्न परिवारलाई विस्थापित गरेकोमा आपत्ति र खेद व्यक्त गरेका हुन् ।
विस्थापित परिवारलाई तत्काल,गास,बास, कपास र स्वास्थ्य उपचारको व्यव्यस्था गर्न बुटवल उपमहानगरपालिकासंग उनिहरुले माग समेत गरेका छन् । बुटवल–१ स्थित रजा ए मुस्तफा मस्जिद अगाडि २ कठ्ठा बढी जग्गामा २०२८ सालदेखि बस्दै आएका १६ परिवारका टहरा उपमहानगरले दुई हप्ता अघि डोजर लगाएर भत्काइदिएको थियो । घर भत्कीएपछि पछि घरबारविहीन भएका उनीहरु वैकल्पिक व्यवस्थाको माग गर्दै १० दिनदेखि अनसनमा छन् ।
अदालतमा मुद्दा चलेको र अन्तिम फैसला नहुंदै उपमहानगरले बलपुर्वक वर्षायामको मुखमा आफूहरुलाई घरवारविहीन बनाएर अन्याय गरेको भन्दै उनीहरुले न्यायको माग गरेका छन् । तत्कालीन स्वर्गीय श्री ३ बडामहारानीको जग्गाले चर्चेको उक्त स्थानमा उपमहानगरपालिकाले ४० लाख लागतमा कभर्ड हल बनाउने भन्दै शिलान्यास गरेको छ ।
मस्जिद व्यवस्थापन समितिले समेत उपमहानगरपालिकाले मस्जिदलाई आवश्यक पर्ने पार्किङ क्षेत्र नछोडी कभर्ड हल बनाउन खोजेको भन्दै विरोध गरेको थियो । मस्जिद समितिको विरोधपछि उपमहानगरले ३० फुट पार्किङ स्थलका लागि छाड्न सहमत भएको अध्यक्ष मकबुल मियाले बताए । घोडा बांध्ने तबलाको रुपमा रहेको उक्त टहरामा ९ परिवार मुस्लिम र ७ परिवार हिन्दु समुदायका बस्दै आएका थिए ।