आफ्नै घरको अभिभावकवाट स सना वालवालिकाहरुले संरक्षणको आशा गरेका हुन्छन् तर त्यहि अभिभावकले राक्षसी रुप देखाएपछि ति वालवालिकाको हालत के होला । रुपन्देहीको देवदहमा २ यस्तो काहलीलाग्दो घटना सार्वजनिक भएको छ । स ससाना बालबालिकामाथि सौतेली आमाले निर्घात कुटपिट गरेकी छन् ।
देवदह नगरपालिका १० चरङ्गेकी ३५ वर्षीया डिलमाया सारुले १२ वर्षिय सुशील सारु र ८ वर्षिय सिर्जना सारुलाई निर्घात कुटपिट गरेकी हुन् । कुटपिटपछि बालबालिकाको शरीरमा निलडाम देखिन्छन्। बालबालिकालाई बंगुरलाई खुवाउन ल्याएको ब्रेड, चिउरामा रक्सी हालेर जबरजस्ती खान दिने गरेको र नखाए पाइपले पिट्ने गरेको उनीहरुले बताएका छन्।
बालबालिकालाई अमानवीय व्यवहार गर्दै कुटपिट गर्ने डिलमायालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। उनीहरुकी आमा अन्यत्रै बिहे गरेर गएपछि बाबु जीतबहादुरले डिलमायासँग दोश्रो बिहे गरेका थिए। फुपु वसन्ती थापासँगै बस्दै आएका उनीहरु कान्छी आमा आएपछि घर फर्किएका थिए। जीतबहादुर रोजगारीका लागि दुबईमा छन्।
उनी दुबईमा रहेको समयमा उनले सौतेनी छोराछोरीलाई लामो समयदेखि निर्घात रुपमा कुटपिट गर्दै आएको र खाना समेत राम्रोसँग नदिएको बालबालिको भनाई छ। ‘अब हामी त्यो आमासँग बस्दैनौँ, हामीलाई कुटेर मार्नुहुन्छ, हामी त्यो आमासँग बस्दैनौँ, फुपुसँग बस्छौं’, कुटपिटबाट विक्षिप्त भएका बालबालिकाले भने। शुक्रबार विद्यालयमा झोक्राइरहेका बालबालिकालाई शिक्षकले के भयो भनेर सोधपुछ गरेपछि मात्रै घटना बाहिर आएको हो। सीता मावि चरङ्गेका शिक्षक लेखनाथ थापाले सुशील झोक्राइरहेको अवस्थामा देखेपछि सोध्दा सबै कुरा बताएको जानकारी दिए।
डिलमायाले आफूले खाना बनाएर खाने र बालबालिकालाई खाना खान नदिई पिढींमा सुत्न लगाउने गरेको बालबालिकाले बताएका छन्। स्थानीय आशा पुनका अनुसार बालबालिकालाई कुटपिट नगर्न अनुरोध गर्दा डिलमायाले गाउँलेसँग झगडा गर्दै आएकी थिइन्। ईलाका प्रहरी कार्यालय बुटवलका डिएसपी भिमलाल भट्टराईले बालबालिकालाई क्रुर यातना दिएको पाइएकाले कानुन बमोजिम कारबाही अघि बढाउने बताए।