महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले भन्सार छलेर ल्याएको कपडा बरामद गरेको छ । प्रभागको टोलीले नेपालगन्जबाट काठमाडौँ आउँदै गरेको ना.६ख ७८९२ नम्बर र ना.६ख १२८९ नम्बरको बस जाँचका क्रममा १० लाख ७१ हजार रुपैयाँबराबरको सामग्री शनिबार बिहान बरामद गरेको हो ।
महानगरीय प्रहरी वृत्त थानकोट प्रमुख कुमारविक्रम थापाले २ बस जाँच गर्दा भन्सार छलेर ल्याएको ५ बोरा सामान बरामद गरेको जानकारी दिए ।
'सामानको बिल र धनी नभएकाले हामीले सामानलाई बरामद गरेका हौँ,' उनले भने । प्रहरीले १ हजार ४ सय १८ थान विभिन्न रङका कुर्था तथा टप्स, पुरुषले लगाउने कमिज ७५ थान, पेटी २४ थान, पुरुषले लगाउने कट्टु ५९ थान, ४८ मुठ्ठा जाली कपडा बरामद गरेको हो । वृत्तको टोलीले आवश्यक कारबाहीका लागि सामानलाई राजस्व अनुसन्धान विभाग पठाएको छ । -रासस