पुस्तौँदेखि हलिया बस्दै आएका डोटी सायल गाउँपालिका १, छपाली बिनेवाडाका ५६ वर्षीय जङ्गे भुल २०६५ सालमा हलियामुक्तिको घोषणासँगै खुसी भएका थिए ।
उनले सरकारबाट केही राहत पाउने आश पनि गरेका थिए, रोजगारीको आश पनि थियो । तर, उनका लागि त्यो मुक्ति अहिले ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ जस्तै भएको छ ।
पुस्तौँदेखि हलो जोत्दासमेत उनको ऋण मिनाहा नभएपछि उनले एक पटक त साविकको छपाली गाउँ विकास समितिमा आफ्ना मालिकविरुद्ध उजुरीसमेत दिएका थिए ।
२०६५ भदौ २१ गते सरकारले ऋण मिनाहसहितको हलिया मुक्तिको घोषणा गर्दा उनले मालिकको ऋण तिर्नुपरेन । तर, उनलाई ऋण तिर्न दबाब भने पछिसम्म पनि आयो ।
पुस्तौँदेखि भूमिहीन जङ्गे भुलको परिवारले यसपटक मुक्त हलिया पुनःस्थापनाको सरकारी कार्यक्रमबाट घर मर्मतका लागि भन्दै १ लाख २५ हजार रुपैयाँ सहयोग पाउने भएका छन् ।
तर जङ्गेजस्तै भूमिहीन मुक्त हलियाले भने जग्गा खरिद र घर निर्माणका लागि भन्दै ५ लाख २५ हजार रुपैयाँ पाउँदै छन् । “गाउँमा नयाँ मान्छे आएका थिए, यो घर कसको हो भनेर सोधे, मैले साहुको घरलाई मेरो हो भनेको हूँ”, जङ्गे भन्छन्, “मैले आफू बस्ने भएको हुँदा मेरो घर हो भनेँ तर उनीहरुले मेरै घर सोचेर ‘घ’ वर्गको परिचयपत्र बनाएछन्, अब घाटा भयो ।”
आफूलाई धेरै कुरा जानकारी नभएको र आफ्नै नाममा घरजग्गा छ/छैन भनी कसैले नसोधेको उनी बताउँछन् ।
“घर जग्गा दुवै भएका व्यक्तिले भूमिहीन भन्दै ‘क’ वर्गको परिचयपत्र पाएको छ भन्ने सुनेको छु, मेरा त बोलिदिने कोही भएन, अनि यसो भयो”, उनले भने ।
एउटै घरमा दुई/तीन जनाले समेत ‘क’ वर्गको परिचयपत्र पाएको आफूले सुनेको उनको भनाइ छ । जङ्गेकी पत्नी हीराको निधन भएको करिब १२ वर्ष भयो । उनका जेठा छोरा इन्द्र विगत ३ वर्षदेखि सम्पर्कमा छैनन् ।
मानसिक सन्तुलन ठीक नभएका उनी कता छन् वा छन्/छैनन्, त्यसबारेमा जङ्गेलाई अहिलेसम्म पनि जानकारी छैन ।
२२ वर्षीया छोरी भानुमति पनि आँखा देख्दिनन् । आँखा नदेख्ने भएकैले उनको बिहे पनि हुनसकेको छैन । भानुमति मात्रै होइन, जङ्गेका कान्छा छोरा १८ वर्षीय भक्त पनि आँखा देख्दैनन् । जन्मजात अपाङ्गता भएका दुवै छोराछोरीको स्याहारको जिम्मा जङ्गेको काँधमा छ ।
आफू र छोराछोरीको छाक टार्न जङ्गे आजकल गाउँमा साँझ-बिहान पानी खोल्ने/बन्द गर्ने काम गर्छन् ।
करिब १ सय ५० दलित परिवार रहेको उक्त बिनेवाडा गाउँको खानेपानी खोलेबापत उनलाई वर्षको २ पटक अन्न दिने नियम गाउँलेले बनाएका छन् ।
“जेठ र कात्तिकमा गरी वर्षको दुईपटक प्रतिपरिवार ३ माना अन्न दिन्छन्,” स्थानीय धनबहादुर नेपालीले भने, “यसैबाट उनको गुजारा चलेको छ ।” उनलाई छोराछोरी पाल्न सजिलो होस् भनेर नै यो निर्णय गरेको नेपालीले बताए ।
जङ्गेका भाइ ४९ वर्षीय लाले पनि अविवाहित छन् । उनको पालनपोषणको जिम्मा पनि जङ्गेकै भागमा छ । ‘घ’ वर्गको परिचयपत्रका कारण आफू समस्या परेको भन्नुहुँदै जङ्गे निराश छन् । -रासस