नेपाल प्रहरीभित्रको आन्तरिक राजनीतिले संगठनलाई थिलथिलो बनाउन थालेको छ। एक वर्षको अवधिमा प्रहरी संगठनभित्र आन्तरिक राजनीति बढ्दै जाँदा केही अधिकृतहरू राजीनामा दिएर संगठबाट बिदा भएका छन् भने केही अदालतमा मुद्दाको सामना गरिरहेका छन्। त्यसैगरी केही अधिकृतहरू असम्बन्धित स्थानमा सरुवा भएका छन्।
‘कोभर्ट’ अप्रेसन (गोप्य अनुसन्धान) का क्रममा कार्यक्षेत्र मिचेको भन्दै गत वर्ष ३३ किलो सुनकाण्डमा अपराध अनुसन्धान महाशाखा प्रमुख एसएसपी दिवेश लोहनी, डिएसपी प्रजित केसी र सई बालकृष्ण सन्जेललाई मुद्दा लगाएर तीन महिनासम्म थुनामा राखिएको थियो। प्रहरीमा ‘कोभर्ट’ अप्रेसन गर्दा अपनाइने विधि गत वर्ष भत्काउँदै महाशाखा प्रमुखसहितको टिमलाई हिरासतमा पु¥याइयो। त्यसपछि कोभर्ट अनुसन्धानमा संलग्न हुने प्रहरी झस्किएका मात्र छैनन् कामको जिम्मेवारी लिन समेत छाडेका छन्। प्रहरीभित्र ‘कोभर्ट अप्रेसन’ आफैंमा जोखिमपूर्ण हुनाले कमै अधिकृतमात्र यस्तो जोखिम लिन तयार हुने गरेका छन्। जसका कारण ठूला मुद्दामा प्रहरीको असफलता कायमै रहने र फरार प्रतिवादी मात्रै पक्राउ पर्ने गरेका छन्।
नेपाल प्रहरीभित्र १० वर्षअघिदेखि गुन्डागर्दी नियन्त्रणको जस कसले लिने भन्ने होडबाजी चलिरहेको छ । हालका आइजिपी सर्वेन्द्र खनाल, तत्हरू नवराज सिलवाल र रमेश खरेल, एआइजी पुष्कर कार्की, डिआइजी केदार रिजालबीच काठमाडौंको गुन्डागर्दी नियन्त्रणमा जस लिने होड छ ।
३३ किलो सुन तस्करी प्रकरणलाई स्थापित गर्ने प्रहरी अधिकारीलाई नै मुद्दा लगाइएपछि केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत प्रहरीहरूले चुनौतीको सामना गर्न छाडेका थिए। एसएसपी लोहनी उनका ब्याचमा ‘कोभर्ट’ अप्रेसनमा निकै जोखिम उठाउनसक्ने प्रहरी अधिकृतमध्ये एक हुन्।
त्यसैगरी, सुनको अनुसन्धान चलिरहेका बेला कञ्चनपुरको भीमदत्त नगरपालिका उल्टाखाममा निर्मला पन्तको हत्या अनुसन्धानका लागि खटिएका प्रहरी अधिकृतहरूलाई दोषी देखाई केहीलाई निलम्बन मात्र गरिएन उनीहरूलाई अदालतमा मुद्दा दायरसमेत गरियो। फिल्डमा खटिएकी प्रहरी जवान चाँदनी साउद र सिआइबीबाट खटिएका डिएसपी अंगुर जिसीलाई निलम्बन गरियो। प्रहरी जवान साउदले निर्मला पन्तको शव निर्वस्त्र अवस्था भेटिएकाले उनको गुप्तांग छोप्न सुरुवाल पखाल्नुबाहेक उनको कुनै दोष नदेखिए पनि उनीमाथि कारबाही भयो। तत्कालीन प्रहरी नायव महानिरीक्षक हालका एआइजी धीरु बस्न्यातको संयोजकत्वमा तयार पारेको प्रतिवेदनका आधारमा चाँदनी साउदको निलम्बन भएको देखिन्छ भने डिएसपी अंगुर जिसी र प्रहरी निरीक्षक एकिन्द्र खड्काको हकमा नक्कली अभियुक्त खडा गरेको भन्ने आरोप लगाइएको छ। नागरिक दैनिकमा खबर छ।