बर्दियाको बढैयाताल गाउँपालिका ४, खैरेनीकी १० वर्षीया राधा पासी विद्यालय भर्ना हुन नपाउँदा शिक्षाको अवसरबाट वञ्चित भएकी छिन् ।
घर नजिकको विद्यालयले सुस्त श्रवणशक्ति भएको भन्दै भर्ना गर्न नमानेको बालिकाका बाबु राधेश्यामले बताए । राधा ५ वर्ष पुग्नेबित्तिकै उनका बाबुले घर नजिकैको ज्ञानदोय माविमा भर्ना गर्न खोजेका थिए ।
तर विद्यालयले सुस्त श्रवणशक्तिका विद्यार्थी पढाउने छुट्टै व्यवस्था नभएको र अन्य सामान्य विद्यार्थीसँग राखेर पढाउन नसकिने भन्दै भर्ना लिन मानेन ।
राधा अरु सामान्य व्यक्तिसरह प्रस्टसँग बोल्न सक्दिनन् । जन्मैदेखि उनको बोली आउँदैन । आवाजबाट उनले आफ्ना कुरा अरुलाई भन्न सक्दिनन् । उनको श्रवणशक्ति कमजोर छ र साङ्केतिक भाषा मात्रै बुझ्न सक्छिन् । अन्य विद्यालयमा पनि पटक–पटक भर्नाको प्रयास गरे पनि फिर्ता पठाइएको उनले जानकारी दिए ।
घर छेउबाटै गाउँका अरु बालबालिका कापी-कलम बोकेर पढ्न गइरहेका हुन्छन् । राधाको पढ्ने इच्छा भए पनि आँगनबाट उनीहरुलाई टुलुटुलु हरेर बस्नुको विकल्प नभएको बाबु राधेश्याम बताउँछन् ।
सरकारले विद्यालयमार्फत् आधारभूत तहको शिक्षा अनिवार्य र विद्यालय जाने उमेरका बालबालिका अनिवार्य भर्ना गर्ने नीतिसहित अभियान चलाउँदै आएको छ । तैपनि राधाजस्ता बालबालिका ती नीति र अभियानभित्र पर्न सकेका छैनन् ।
स्थानीय गणेश विक यस अवस्थाले सरकारले भन्दै आएको सबैलाई अनिवार्य शिक्षाको नाराले साकार रूप पाउनेमा आशंका उत्पन्न भएको बताउँछन् । -रासस