सरकारले सदनमा पेश गरेको गुठी विधेयक फिर्ता लिने निर्णय गरे पनि त्यसविरुद्धको आन्दोलन झन बृहत बन्दै गएकाे छ । विधेयक खारेज हुनुपर्ने माग गर्दै आन्दोलनमा होमिएका गुठीयारहरुले आज पनि काठमाडाैंकाे माइतिघर मण्डलामा विशाल प्रदर्शन गरेका छन् ।
उनीहरुले सरकारले गलत व्याख्या गरेर झुक्याउन खोजेको भन्दै आन्दाेलनलाइ शसक्त बनाउँदै लगेका हुन् । राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिका संयोजक गणपतिलाल श्रेष्ठले विधेयक खारेज नभए सम्म आन्दाेलन नराेकिने बताए ।
यस्तै, गुठी विधेयक विरुद्ध आन्दोलन गरिरहेका संघसंस्थाहरुले सरकारले विज्ञप्ति जारी गरेर दोहोरो चरित्र देखाएको आरोप लगाएका छन् ।
भक्तपुर, ललितपुर र काठमाडौंबाट स्वतस्फूर्त रुपमा निस्कने र्यालीपछि माइतीघरमा विरोध एवं खबरदारी सभामा परिणत भएकाे थियाे ।
विरोधसभालाई रोक्नका लागि हतारहतार गरी मंगलबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले मंगलबार दुई सूत्रीय एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय सभामा दर्ता गरिएको गुठीसम्बन्धी विधेयक फिर्ता लिने निर्णय गरेको बताएकी थिइन्।