विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी समर्थित ९ विद्यार्थीलाई जिल्ला प्रशासन कार्यालय कास्कीले आइतबार रिहा गर्न आदेश दिएको छ ।
जेठ २५ गते कास्कीको घान्द्रुकबाट पक्राउ परेकामध्ये सार्वजनिक अपराध मुद्दा लगाइएका ९ जना प्रशासनको आदेशबाट रिहा भएका हुन् । प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाको इजलासले ९ जनालाई जनही २ हजार ४ सय रुपैयाँ जरिवाना गरेर छाडेको हो ।
रिहा भएलगत्तै कास्की प्रहरीले दीपेन्द्र बुढालाई पुन पक्राउ परेको छ । जिल्ला प्रशासन कार्यालय पर्वतको पक्राउ पुर्जी देखाएर जिल्ला प्रहरी कार्यालय कास्की परिसरबाटै पक्राउ गरेको हो । उनलाई सोमबार पर्वत लगेर सार्वजनिक मुद्दामा म्याद थपिने प्रहरीले जनाएको छ ।
रिहा हुनेमा प्रमोद सिंह, उपेन्द्र परियार, प्रतीक्षा भण्डारी, अनिता परियार, वसन्त अर्याल, नवीन पौडेल, देवी गुरुङ र कमला परियार छन् । उनीहरुलाई रिहा गर्न माग गर्दै गत बिहीबार उच्च अदालत पोखरामा बन्दीप्रत्यक्षीकरण रिट परेको थियो । मुख्य न्यायाधीश यज्ञप्रसाद बस्यालको इजलाशले थुनामुक्त गर्न आइतवार आदेश दिनु अगावै उनीहरुलाई प्रशासनले रिहा गरिदिएको थियो ।