बुढानीलकण्ठ–रत्नपार्क एनएसी रूटमा गुड्ने माइक्रोबसका एकचालक वास्तविक नामले भन्दा ‘घाँस खाने’ नामबाट परिचित छन्। ती चालकले प्रायः गाँजा सेवन गरी सवारी चलाउने गरेकाले घाँस खाने नाम राखिएको हो।
त्यस्तैं, टोखा–रत्नपार्क रुटमा चल्ने माइक्रोबसका एकचालक ‘ट्यापे’ नामले चर्चित छन्। लागूआंैषध ‘ट्यावलेट’ खाएर सवारी हाक्ने भएकाले ती चालकको नामै ट्यापे राखिएको उहाँकै सहकमी चालकहरू बताउँछन्। लागूपदार्थ सेवन (लापसे) गरी सार्वजनिक सवारी चलाउने यी दुई चालक नमूना हुन्। यातायात व्यवसायीहरूका अनुसार, सवारी चालकहरूमा लागू पदार्थ सेवनको समस्या निकै जटिल बन्दै गएको छ।
मदिरा सेवन (मापसे) गरी सवारी चलाउदा गन्ध आउने भएकाले मोइक्रोबस, मिनीवस, ट्रिपर र ट्याक्सी लगायतका सार्वजनिक सवारीका चालकहरूले गाँजा तथा चरेश चुरोटमा राखी सेवन गर्ने र ट्यावलेट खाने गरेको पाइएको छ। बुढानीलकण्ठ माइक्रोबस व्यवसायी समितिका एकअधिकारी लापसेविरुद्ध कारवाही सुरु गर्ने हो भने उपत्यकामा चालकहरूको खडेरी पर्ने बताउँछन्। बारम्बार सम्झाइ बुझाइ गर्दा पनि अटेर गर्नेलाई सवारी धनीले नै प्रहरीको जिम्मा लगाउने गरेको पाइएको छ।
बुढानीकलकण्ठ, टोखा, जोरपाटी, स्वयम्भू, बालाजु, भक्तपुर, लगनखेल र कीर्तिपुर रुटमा चल्ने माइक्रोबस र मिनीबसका चालकहरूमा यो समस्या बढी देखिएको छ।
यातायात व्यवसायीका अनुसार, सहचालक (खलासी) बाट चालक बनेकाहरू बढी प्रभावित छन्। महानगरीय ट्राफिक प्रहरीले मदिरा सेवन (मापसे) गरी सवारी चलाउनेविरुद्ध सशक्त कारवाही अभियान सञ्चालन गरेसँंगै चालकहरू लापसेमा लागेका हुन्। सवारी तथा यातायात व्यवस्था ऐनले मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी चलाउन निषेध गरेको छ।
तर, कानुनी एवं प्राविधिक समस्याका कारण लापसे कारवाहीलाई कार्यान्वयनमा ल्याउन नसक्दा समस्या जटिल बन्दै गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायव उपरीक्षक पदमबहादुर विष्ट बताउनुहुन्छ।
ब्रेथलाइजर प्रविधिको प्रयोगबाट मापसे परीक्षण गरी कारबाही गर्न सक्ने अधिकार सवारी कानुनले नै स्पष्ट रुपमा दिए पनि लापसेका लागि ‘मेडिकल रिपोर्ट’ अनिवार्य गरिएकाले कार्यान्वयनमा समस्या आएको उहाँको भनाइ छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले पोखरा र प्रदेश २ सरकारले लापसेविरुद्ध सञ्चालन गरेको कारवाही अभियान कानुनको अस्पष्टताका कारण स्थगित गरिएको छ। लापसे ‘युरिन किड्स’ मेसिनको सहयोगबाट भने सहजै पत्ता लगाउन सकिन्छ।
युरिन किड्स मेसिनको नेपाली बजार मूल्य दुईसयदेखि सातसय रुपियाँसम्म रहेको छ। चिकित्सक प्रणव प्रधानले रगतको नमूना सङ्कलनभन्दा युरिन ( पिसाव ) बाट कुनै व्यक्तिले लागूपदार्थ सेवन गरे वा नगरेको सजिलै छुट्याउन सकिने बताउँछन्। गाेरखापत्र दैनिकमा खबर छ।