जनकपुरसहित तराईँमा बढेको गर्मीले जनीवन कष्टकर बनेको छ । अत्यधिक गर्मीका कारण बजार, शैक्षिक संस्था, सरकारी कार्यालयमा कामकाज प्रभावित भएका छन् । जनकपुर विमानस्थलस्थित जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालयले दिएको जानकारीअनुसार ३९ डिग्री सेल्सियस तापक्रम पुगिसकेका छन् ।
चर्को गर्मीका कारण बजार सुनसान छ, सडकमा हिँडडुल गर्ने कमै देखिएका छन् । गर्मी बढ्दा चिसो पेयपदार्थसँगै फलफूल जुस, लस्सीको व्यापार बढेको छ । मध्यान्ह र अपरान्ह सरकारी कार्यालयसहित बजारमा सर्वसधारणको उपस्थिति पातलिएको छ । गर्मी छल्न पेयपदार्थ पिउनेसँगै सर्वसाधारणले अन्य उपाय अपनाउँदै आएका छन् ।
गर्मीको मार सबै भन्दा बढी विद्यालय जाने बालबालिका माथि परेको छ । पछिल्लो केहिदिनयता तापक्रम निरन्तर बढ्दै गएपछि बालबालिकाहरूलाई विद्यालय पुग्न समस्या भोग्नु परेको छ । अत्याधिक गर्मीका कारण बालबालिकाहरू बिरामी समेत पर्न थालेका छन् । विद्यालयहरूमा भौतिक पूर्वाधारको कमी र अत्याधिक गर्मीले बालबालिकाहरू ठुलो मारमा परेका छन् ।
अत्यधिक गर्मी छल्न निजी तथा सामुदायिक विद्यालयले बिहानको सत्रमा पठनपाठन सञ्चालन गर्ने गरेका छन् । यद्यपि विद्यालयबाट फर्किने समय बमध्यान्ह पर्दा गर्मीले बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पार्दै आएको छ ।
पठनपाठन ठप्प
गर्मी बढेपछि पर्साको वीरगञ्ज महानगरपालिकाभित्र रहेका सबै विद्यालय एक साताका लागि बन्द गरिएका छन् । अत्यधिक गर्मीका कारण विद्यार्थी बेहोस हुन थालेपछि भोलि असार १ देखि ६ गतेसम्म विद्यालय बन्द गरिने महानगरपालिकाले जनाएको छ । महानगरभित्र रहेका विद्यालयका प्रधानाध्यापक, शिक्षक महासङ्घ र महानगरको शिक्षा समितिको बैठकले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । वीरगञ्जभित्र ९३ सामुदायिक र १ सय ८५ भन्दाबढी निजी विद्यालय रहेका छन् ।
जताततै पानीको हाहाकार
गर्मी बढेसँगै यतिबेला तराईँ मधेसमा खानेपानीको हाहाकार मच्चेको छ । जनकपुर लगायत अधिकांश ग्रामीन भेगमा पानीको मुहान, चापाकल, इनार सुकेका छन् । चार सय फिट खनेर ह्यान्ड पाइप जडान गरे पनि बिहान अलिकअलि पानी आउने गरेका छन भने घाम उदाएपछि सुक्ने गरेका छन् ।
तराई क्षेत्रमा पानीको मुख्य स्रोत हातेकल सुक्न थालेपछि स्थानीयहरू पानीको खोजीमा बाल्टी र बोतल लिई भौतारिएको दृष्य समान्य बनेको छ, अहिले । विगतमा धनुषाको उत्तरी भेगमा यसअघिपनि पानीको समस्या देखिए पनि जनकपुर नगर क्षेत्र तथा जिल्लाको पूर्वी र दक्षिणी भेगमा बिरलै यस्ता समस्या देखिन्थ्यो । तर, अहिले आएर जनकपुरका साथै जिल्लाको अधिकांश स्थानहरूमा हातेकल सुक्न थालेपछि ठुलो संख्यामा सर्वसाधारणहरू कठिनाईमा परेका छन् ।
‘हाम्रो पालामा ४० फिटमा पिउनयोग्य पानी पाइन्थ्यो । अहिले १ सय फिट गाड्दा पनि पिउनयोग्य पानी भेटिँदैन’, जनकपुरका स्थनीय विजय साहले भने , ‘पानी आइहाले पनि सुक्खामौसममा सुकेर जान्छ ।’
पानी अभाव हुनुमा चुरे विनाश मुख्य कारण रहेको उनको ठम्याइ छ । उनी भन्छन्, ‘तराईमधेसको चुरे जंगललाई जोगाउन नसके भित्री तराईमधेस मरुभूमिमा परिणत हुन्छ, अनि हामीले गाईभैंसी पाल्न छोडेर उँट पाल्नुपर्नेछ ।’
धनुषा तथा महोत्तरीको उत्तरी क्षेत्रका दर्जन भन्दा बढी गाउँका बासिन्दा खानेपानीको चर्को समस्यामा छन् । महोत्तरीका गौशाला, बर्दिबास, खयरमारा, बाहुनमारा, टुटेश्वर, हाथिलेट, धनुषाका बटेश्वर, तुल्सी, लालगढ, लवटोली, ढल्केवर, कुसुमविसौना, चित्रपुर, गोदार, धारापानी लगायतका गाउँमा पानीको हाहाकार छ ।
अस्प्तालमा दोब्बरले बढ्यो विरामीको चाप
गर्मीको कहरले प्राय सबै अस्पतालमा विरामीको चाप बढेको छ । अस्पतालहरूमा भाइरल ज्वरो, रुघा, खोकी, टाइफाइड, दम, जंडिस, झाडापखाला लगाएतका रोगका बिरामीहरूको संख्या बढेको हो । जनकपुर अञ्चल अस्पतालका मेडिकल सुपेरिन्टेन्डेन्ट डा.नागेन्द्र प्रसाद यादवका अनुसार गर्मी बढेसंगै अस्पतालमा बिरामीको चाप करिब दोब्बरले बढेर गएको छ । समान्य अवस्थामा उपचारकालागि विरामीहरू दैनिक करिब साढे तीन सय आउने गरेकोमा अहिले दैनिक करिब ६ सय विरामी उपचारकालागि आउने गरेका छन् ।
गर्मी मौसमसँगै बिरामीको चाप बढेपनि अस्पतालमा जनशक्ति अभाव हुँदा उपचारमा समस्या भएको सुपरिटेन्डेन्ट यादवले बताए । दरवन्दी अनुसारको सबै विषयका विशेषज्ञ डाक्टर नहुँदा समेत बिरामीको उपचारमा समस्या आएको हो ।