गुठी विधेयकको विरोधमा राजधानीको वसन्तपुर दरबार स्क्वायर क्षेत्रमा प्रदर्शन गरिएको छ ।
ज्यापु महागुठी नेवाः केन्द्रीय समितिको आह्वानमा शनिबार वसन्तपुर दरबार क्षेत्रमा विरोध प्रदर्शन गरिएको हो । प्रदर्शनमा विभिन्न गुठीका गुठियार तथा सर्वसाधारण सहभागी थिए । उनीहरुले परम्परागत धार्मिक, सांस्कृतिक धरोहर अतिक्रमण गर्ने गरी गुठी विधेयक ल्याइएको भन्दै नाराबाजी गरेका थिए ।
विरोध र्याली न्युरोड, जैसीदेवललगायत स्थान हुँदै वसन्तपुर दरबार क्षेत्र पुगी कोणसभामा परिणत भएको थियो । सरकारले ल्याएको गुठी विधेयकको सडकदेखि सदनसम्म विरोध हुँदै आएको छ ।
सत्तारूढ दलकै सांसदहरूले पनि यो विधेयकको विरोध गर्दै आएका छन् । सरकारले मुलुकभरका गुठीहरूको व्यवस्थापन लगायतका कामका लागि प्राधिकरण गठन गर्ने र गुठीको जग्गा भोगचलन गर्दै आएका किसानको नाममा रजिस्ट्रेसन पास गरिदिने व्यवस्था सहितको विधेयक ल्याएको छ । यसैको विरोधमा मुलुकभरका गुठीहरु विरोधमा उत्रिएका हुन् ।