पाल्पाको निस्दी गाउँपालिकामा जंगली च्याउको तरकारी खाँदा बिरामी परेकामध्ये ज्यान जानेको संख्या ६ पुगेको छ । गत शुक्रबार च्याउ खाएर केही बिरामी भएका थिए । जंगली विषालु च्याउको तरकारी पकाएर खाएकामध्ये निस्दी ३ सार्कीडाँडाका नौ वर्षीया निर्मलासिं ठकुरी, चारवर्षीय विष्णुसिं ठकुरी, सात वर्षीय सुमनसिं ठकुरी, निशासिं ठकुरी, निरुतासिं ठकुरी र ४५ वर्षीय पुरन खाम्चाको निधन भएको सांसद दलबहादुर रानाले जानकारी दिए।
बिरामीमध्ये निर्मलाको मध्यविन्दु अस्पताल नवलपरासी विष्णुको पुरानो मेडिकल कलेज भरतपुर तथा अन्यको काठमाडौंँका विभिन्न अस्पतालमा निधन भएको हो । नजिकैको जंगलबाट खोजेर ल्याइएको च्याउ पकाएर तरकारी खाएका सार्कीडाँडाका ११ जना बिरामी परेका थिए । बिरामीको नवलपरासीको मध्यविन्दु अस्पताल, मनकामना अस्पताल तथा पुरानो मेडिकल कलेज भरतपुर, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंलगायत विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
बिरामी ८० वर्षीय प्रेमसिं ठकुरी उपचारपछि घर फिर्ता भएका छन्। अन्य बिरामी ३६ वर्षीया चनकुमारी खाम्चा, उनकी छोरी १५ वर्षीया विमला, ३० वर्षीया दानमायासिं ठकुरी र धनकुमारी सिंको सघन उपचार कक्षमा उपचार भइरहेको छ।
पाल्पा सदरमुकाम तानसेनदेखि करिब ७० किमी पूर्व सार्कीडाडाँका चार परिवारका सदस्य बिरामी परेका हुन् । सांसद रानाले गृह मन्त्रालयबाट मौखिक निर्णय गराई बिरामीको निःशुल्क स्वास्थ्योपचारको पहल भएको जानकारी दिए। बिरामी तथा ज्यान जानेको परिवारमा सहयोगका विषयमा छलफल तथा बिरामीको स्वास्थ्यावस्था सन्दर्भमा कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलसँग छलफल हुने सांसद रानाले बताए।
आर्थिक अवस्था कमजोर भएका बिरामी परिवारलाई अस्पतालमा भेट्न पुगेका सांसद रानाले मृतकका परिवारलाई उचित राहत प्रदान गर्न र बिरामीको सबै स्वास्थ्योपचार सेवा सरकारबाट व्यहोर्न पहल गरिएको जानकारी दिए। उनले पटक–पटक पाल्पाका विकट भेगमा च्याउ खाएकै कारण ज्यान जाने खतरा भएकाले च्याउ खाँदा सचेत रहन आग्रह गरेका छन्। रासस