भारतको कोलकातामा डाक्टरहरुमाथि भएको आक्रमणविरुद्ध पश्चिम बंगालमा सुरु भएको चिकित्सक हडताल दिल्ली पुगेको छ। कोलकातास्थित सरकारी अस्पताल एनआरएस मेडिकल कलेज अस्पतालमा बिरामीको मृत्युको विषयलाई लिएर परिवार र आफन्तले दुई जुनियर डाक्टरलाई कुटपिट गरेपछि भारतीय चिकित्सक आन्दोलनमा उत्रिएका हुन्।
यो घटनाको विरोधमा जुनियर डाक्टरहरुले उक्त अस्पतालको काम ठप्प पारेर आन्दोलन सुरु भएको थियो।
दिल्लीस्थित एम्स अस्पताललगायतका सरकारी अस्पतालका डाक्टरहरु इमर्जेन्सीबाहेकका सेवा बन्द गर्दै सडकमा ओर्लिएका छन्। यसले गर्दा अस्पतालहरुमा बिरामीहरु अलपत्र परेका छन्। एम्सका रेजिडेन्ट डाक्टर्स एशोसियसनका अध्यक्ष डा. राजीवरन्जनले कोलकाताको घटनाको विरोधमा बिहीबार मौन प्रदर्शन गरिएको बताए। अर्को सरकारी अस्पताल सफदरगन्ज अस्पताल पनि हडतालका कारण प्रभावित भएको छ।
घटनाको विरोध तथा दोषीलाई कारवाही माग गर्दै कोलकाताको सबैभन्दा ठूलो सरकारी अस्पताल एसएसकेएम मेडिकल कलेजका चिकित्सकले तीनदिनदेखि इमर्जेन्सीबाहेकका सेवा ठप्प पारेका छन् भने सागरदत्त मेडिकल कलेज अस्पतालका ८ डाक्टरहरुले राजीनामा दिएका छन्।
आन्दोलनकारी डाक्टरहरुले पश्चिम बंगालका गभर्नर केसरीनाथ त्रिपाठीसँग भेट गर्दै यो मामलामा हस्तक्षेपका लागि अपील गरेका छन् । मुख्यमन्त्री ममता बनर्जीले बिहीबार नै एसएसकेएम मेडिकल कलेज भ्रमण गरी डाक्टरहरुलाई तत्काल हडताल अन्त्य गर्न अल्टिमेटम दिएकी थिइन्।
डाक्टरहरुले आफूहरुविरुद्ध गरिएको हिंसालाई कानुनी अपराधको रुपमा घोषित गरिनुपर्ने, अस्पतालको सुरक्षाका लागि अलग्गै कानुनको व्यवस्था हुनुपर्ने, आक्रमणकारीलाई अस्पतालले आजीवन कालो सूचीमा राख्नुपर्नेलगायतका माग राखेका छन् । उनीहरुको यो मागलाई अधिकारवादीहरुले विरोध गर्दै ‘संविधानविरोधी’ भनेका छन्।