निर्माण कम्पनीको गैरजिम्मेवारीका कारण तीनकुनेस्थित वाग्मती नदीमा निर्माणाधीन पुलको तीनवटा फाउन्डेसनमा त्रुटि देखिएको छ ।
पुलको लम्बाइ ८६ र चौडाइ १७ मिटर छ । काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले निर्माण व्यवसायीलाई हाल पुलको निर्माण रोक्न निर्देशनसमेत दिएको छ । प्रतिनिधिसभा विकास तथा प्रविधि समिति सदस्यले हालै पुलको स्थलगत अध्ययन गर्दा ३ फाउन्डेसनमध्ये दुईवटा भाँचिएको देखिएको समितिको शुक्रबारको बैठकमा जानकारी दिइयो । पुल निर्माणको जिम्मा पप्पु कन्स्ट्रक्सनले पाएको छ । बैठकमा ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्सनलाई कारबाहीको सिफारिससमेत गरिएको छ ।
बैठकले पुलको नक्सामा पुनरवलोकन गरी काम अघि बढाउन सरकारलाई निर्देशनसमेत दिएको छ । समिति सभापति कल्याणीकुमारी खड्काले पुलको स्थलगत अध्ययन गर्दा फाउन्डेसनमा भाँचिएको देखिएकाले तत्काल नक्सा पुनरवलोकन गरी काम अघि बढाउन आवश्यक रहेको बताए ।
त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थानलाई पुलको पुनः नक्साङ्कन गर्न पठाइएको छ । बैठकमा समिति सदस्य गणेश पहाडीले निर्माण कार्य छिटो अघि बढाउन आग्रह गरे । अर्का सदस्य जिपछिरिङ शेर्पाले रातको समयमा पनि सरकारी प्राविधिक विकास निर्माणस्थलमा अनुगमनका लागि अनिवार्य रहनुपर्ने बताए ।
बैठकमा समितिको आव ०७५/७६ को वार्षिक प्रतिवेदनको मस्यौदा पेस हुनाका साथै, सूचना प्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा गठित उपसमितिले आफ्नो प्रतिवेदन समितिसमक्ष प्रस्तुत गर्यो । समिति सदस्य विनाकुमारी श्रेष्ठ संयोजकत्वमा उपसमिति गठन भएको थियो । -रासस