एक हप्ता अघि च्याउ खाएर विरामी पारेका पाल्पाका ११ जनामध्ये अहिलेसम्म ६ जनाको मृत्यु भएको छ।
उपचारका क्रममा ३ जनाको गएराति काठमाडौंमा निधन भएपछि अहिलेसम्म निधन हुनेको संख्या ६ पुगेको हो। शिक्षण अस्पताल काठमाडौंमा उपचार गरारहेका थप तीन जनाको निधन भएको मृतकका आफन्त सुमन मल्ल ठकुरीले जानकारी दिए।
गएराति पाल्पाको निस्दी गाउँपालिका ३ झिरुवासको सार्की डाँडा निवासी ४८ बर्षीय पूर्ण सिंह खाम्चा मगर, १२ बर्षीया निसा सिंह ठकुरी, ६ बर्षीय सुमन सिंह ठकुरीको निधन भएको हो। निसा र सुमन कान्छा बुवा र ठूलाबुवाका छोरा छोरी हुन्।
दुई दिन अघि १४ बर्षीया निरुता सिंह ठकुरीको सोही अस्पतालमा उपचारको क्रममा निधन भएको थियो भने ८ वर्षीया निर्मला सिंह ठकुरी र ४ वर्षीया विष्णु कुमारी सिंह ठकुरीको चितवन मेडिकल कलेजमा ५ दिन अघि निधन भएको थियो।
जंगली च्याउ खाएर ११ जना विरामी परेकोमा ९ जनाको कावासोती स्थित मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भई थप उपचारका लागि काठमाडौं लगिएको थियो। विरामीमध्ये एकजना निको भएर घर फर्किएका छन् भने बाँकी ४ जनाको काठमाडौंमा उपचार भईरहेको छ। तीमध्ये २ जनाको अवस्था सुधारोन्मुख रहेको परिवारले जनाएको छ।
मृतक ६ जना मध्ये निसा, निरुता, निर्मला र विष्णु एउटै परिवारका दिदी बहिनी हुन्। एक पछि अर्कोको मृत्यु भएको खवरले उनीहरुको गाउँ सार्कीडाडामा सन्नटा छाएको छ। गरिब बस्ती सार्कीडाँडामा जनजाति र दलित समुदायको बाहुल्यता छ। गाउँमा अहिलेसम्म सरकारी निकायबाट कोही पनि पुगेको छैन।