व्यवसायी सुन्दरकुमार श्रेष्ठमाथिको बलात्कार मुद्दामा उच्च अदालत पोखराले जिल्ला अदालतको आदेशलाई बिहीबार सदर गरेको छ। जिल्ला आदेश बेरितपूर्ण भएको भन्दै मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ वमोजिम उच्चमा निवेदन परेको थियो। जिल्ला न्यायाधिवक्ताको कार्यालय र आरोपित श्रेष्ठ दुवैले आदेश सच्याउन माग गर्दै उच्चमा निवेदन दिएका थिए।
मुख्य न्यायाधीश यज्ञप्रसाद बस्याल र न्यायाधीश जगतप्रसाद श्रेष्ठको इजलाशले जिल्ला अदालतकै आदेशलाई सदर गर्न आदेश गरेको रजिस्ट्रार जीतेन्द्रबाबु थपलियाले जानकारी दिए। करणी सम्बन्धी कसुरमा जिल्ला न्यायाधीश लालकाजी श्रेष्ठको इजलाशले आरोपित सुन्दरकुमार श्रेष्ठलाई पछि ठहरे बमोजिम हुने गरी ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने वैशाख ४ गते आदेश गरको थियो।
बिहीबारको आदेशमा भनिएको छ,‘यसमा वारदातको प्रकृति, पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन, अधिकार प्राप्त अधिकारी र अदालतसमक्ष निवेदक प्रतिवादीले गरेको बयान तथा मौकामा बुझिएका व्यक्तिहरुको वस्तुस्थिति मुचुल्काको भनाइ समेतका तत्काल प्राप्त प्रमाणहरुको आधारमा पछि प्रमाण बुझ्दा ठहरेबमोजिम हुने गरी भनी प्रतिवादी सुन्दरकुमार श्रेष्ठसँग ५ लाख रुपैयाँ नगद धरोट वा जमानत वा बैंक जमानत माग्ने गरी त्यस अदालतबाट भएको आदेश बेरितको नदेखिँदा परिवर्तन गरिरहनु परेन।’
उक्त घटनामा बालयौन दुराचार मुद्दामा जोडिएका सुवास सुवेदीको मुद्दाको प्रक्रियामा उच्चले असन्तुष्टि जनाउँदै छिटो प्रमाण बुझी मुद्दाको किनारा लगाउन आदेश गरेको छ। आदेशमा उल्लेख छ,‘सुवास सुवेदीको मुद्दासमेत सँगै राखी अभियोगपत्रमा लेखिएबमोजिम काम हालसम्म सुरु मिसिलबाट भए गरेको नदेखिँदा सो कार्य समेत पूरा गराई बुझ्नुपर्ने भए थप प्रमाण चाँडो बुझी प्रस्तुत मुद्दाको कारवाही र किनारा गर्नुहोला।’ मुद्दामा सरकारका तर्फबाट सहन्यायाधिवक्ता नरेन्द्रबहादुर चन्द, प्रतिवादीको तर्फबाट वरिष्ठ अधिवक्ता कृष्णबहादुर थापा, अधिवक्ताहरु योगेन्द्रबहादुर अधिकारी, सुुरेन्द्र थापामगर, रोहितराज बास्तोला, गोविन्द पौडेल, दीपक शर्मा पौडेल र तोयनाथ पौडेलले बहस गरेका थिए।
बालिका करणी आरोपमा चैत ८ गते पक्राउ परेका श्रेष्ठविरुद्ध जिल्ला प्रहरी कार्यालयको अनुसन्धानपछि २९ गते जिल्ला न्यायाधिवक्ताको कार्यालयमार्फत मुद्दा दायर भएको थियो। श्रेष्ठलाई १० देखि १२ वर्षसम्म कैद र मनासिब बमोजिम क्षतिपूर्ति मागदाबीसहित मुद्दा दर्ता भएको थियो। १६ वर्ष वा सोभन्दा माथि र १८ वर्षभन्दा कम उमेर भए मुलुकी अपराध संहिता दफा २१९ को ३ (घ) अनुसार १० देखि १२ वर्षसम्म कैद मागदाबी गरिएको हो। वारदात भएको भनिएको बखत ती बालिकाको उमेर १७ वर्ष ६ महिना २५ दिन थियो। १८ वर्षभन्दा कम उमेरका बालिकासँग सहमतिमै यौन सम्पर्क गरे पनि बलात्कार ठहर्ने कानुनी प्रावधान छ।
चितवन घर भएकी ती बालिका सानै उमेरदेखि लेकसाइडको कान्तिपुर होटल नजिकैको घरमा घरेलु श्रमिकको रुपमा काम गर्दै आएकी थिइन्। गत भदौदेखि विभिन्न लोभ देखाएर र श्रेष्ठले बलात्कार गरेको आरोपसहित जाहेरी दर्ता भएको थियो। तर बालिकाले प्रहरी जाहेरीमा उल्लेख भएभन्दा निकै फरक बयान अदालतमा दिएकी छन्।
उनै बालिकामाथि सुवेदीले यौन दुव्र्यवहारको आरोप लागेका सुवास सुवेदी भने यस अघि नै ३ लाख धरौटीमा छुटेका छन्। श्रेष्ठ र सुवेदी एकै दिन पक्राउ परेका हुन्। सुवेदीको मुद्दामा मुलुकी अपराध संहिता दफा २२५ को ३ अनुसार ३ वर्षसम्म कैद र ३० हजारसम्म जरिवानाको मागदाबी थियो।