डिजिटल कारोबारलाई सुरक्षित बनाउन ल्याइएको विद्युतीय कारोबार ऐनको प्रहरीबाट दुरुपयोग बढेको छ।
फिल्मबारे व्यंग्यात्मक समीक्षा गर्नेहरूलाई समेत प्रहरीले विद्युतीय कारोबार ऐनको गलत व्याख्या गरी कारबाही गर्न लागेको छ। ‘वीर विक्रिम २’ नामक फिल्मबारे व्यंग्यात्मक र आलोचनात्मक समीक्षा गरेको भन्दै प्रहरीले हास्यकलाकार प्रनिश गौतमलाई सात दिनदेखि थुनामा राखेर विद्युतीय कारोबार ऐनअनुसार मुद्दा प्रक्रिया अघि बढाएको छ। प्रहरीको यस्तो कदमले नागरिकको अभिव्यक्ति स्वतन्त्रताको हक हनन भएको भन्दै प्रहरीको सर्वत्र आलोचना भएको छ।
‘मेम नेपाल’ नामक युट्युब च्यानलमा सो फिल्मबारे गौतमले व्यंग्यात्मक भिडियो समीक्षा गरेका थिए। सो समीक्षाले आफूहरूको मानमर्दन भएको भन्दै निर्देशक मिलन चाम्लिङ राईले प्रहरीमा जाहेरी दिए। विस्तृत अनुसन्धान नै नगरी प्रहरीले गौतमलाई पक्राउ गरी मुद्दा चलाएको हो। जब कि उजुरी परेलगत्तै मेम नेपालले सो भिडियो हटाएको थियो। फिल्मबारे नकारात्मक समीक्षा गरेकै आधारमा पक्राउ गर्नुले नागरिकको अभिव्यक्ति स्वतन्त्रता नै हनन भएको अधिकारकर्मीले बताएका छन्। फ्रिडम फोरम, चलचित्र समीक्षक समाजलगायतले समेत गौतमको पक्राउप्रति आपत्ति जनाएका छन्। पक्राउको विरोधमा बुधबार राजधानीमा प्रदर्शन नै भएको थियो। सामाजिक सञ्जालमार्फत समेत उनलाई छुटाउन दबाब अभियान सुरु गरिएको छ।
अपराध महाशाखाका एसएसपी सहकुल थापा सबै प्रक्रिया पूरा गरेर अदालतकै आदेशमा गौतमलाई पक्राउ गरिएको बताउँछन्। ‘जाहेरी आएपछि हामीले दर्ता नै नगर्न मिल्दैन,’ उनले भने, ‘प्रहरीमा आएको जाहेरी र फिल्मबारे गरिएको समीक्षा हामीले अदालतमा देखायौं, यत्तिको घटनामा साइबर क्राइम मुद्दा चल्छ भनेपछि थुनामा राखेर अनुसन्धान अघि बढाएका हौँ।’ १४ दिनसम्म आफूहरूले दुई पक्षलाई मिलाउने प्रयास गरेको उनी बताउँछन्। तर, जाहेरी दिनेले मुद्दा चलाउनैपर्ने बताएपछि अदालतको आदेशमा थुनामा राखिएको उनको भनाइ छ। नयाँ पत्रिकामा खबर छ।