गएको आइतवार साँझ जनकपुर उपमहानगरपालिका–७ बस्ने अटो रिक्सा चालक श्रवन साहले एक महिलायात्रीमाथि गालीगलौज गर्दै हातपात गरे । रामान्द चोक रिक्सा चढेकी महिलाले करिब १ किलोमिटरको दुरीमा रहेको भ्रमरपुरा चोक ओर्लिपछि साहले २० रुपैँया भाडा मागेका थिए । तर, ती महिलाले मात्र १० रुपैँया भाडा रहेकाले त्योभन्दा बढी दिन नमान्दा चालक साहले हात छोडदै उनलाई धक्का दिए । ती महिला रिक्सामा ठक्कर खाँदै लडिन र चोट सहन नसकेर कराउन थालिन । छेउमै ठेलामा अण्डा पकाइराखेकी एक महिला व्यवसायीले ती पुरुषलाई हप्काउँदै महिलायात्रीलाई बचाइन् ।
गएको बिहीवार मुरली चोकमा साँझ करिब सावा ८ बजे एक बृद्ध र रिक्सा चालकबीच भाडाको विषयमा विवाद भयो । रामानन्द चोकबाट तीन किलोमिटर रिक्सा चढेर आएको ती बृद्धसँग चालकले ६० रुपैँया माग्दै थिए । तर उनले भने ४० रुपैँयाभन्दा बढी दिन तयार नभएपछि विवाद भएको थियो । रिक्सा चालकले गाली गलौज गर्दै हप्काएपछि बृद्धले ५० रुपैँया दिन तयार भए ।
प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा रिक्सा चालकले मनपर्दी भाडा अशुल्दै गरेको यी दुइटा घटना उदाहरणका पात्र मात्र हुन् । सरोकारबाला निकाय मौन बस्दा चालकहरुले मनपरी भाडा अशुल गर्नुका साथै ६ जनासम्म यात्री बोक्ने गरेको पाइएको छ । मुरली चोकदेखि हनुमानगढी पुग्न अटो रिक्सामा मुस्किलले १५ मिनेट लाग्छ तर त्यसको भाडा प्रतिव्यक्ति ५० देखि ८० रुपैँयासम्म असुल गरिराखेका छन्, अटो रिक्सा चालकले ।
‘१५ मिनेटकै बाटोमा ८० रुपैँया माग्छन् यो त अति भयो तर यीनीहरुलाई कसले के भन्ने ? ,’ रिक्सा कुरेर बसेका बिजनन्दन झाले भने, ‘यीनीहरुकालागि कुनै नियम छैन ? फाइदा छैन भने रिक्सा नचलाउने नि । यसरी मनपर्दी गर्ने ?’ मुरलीचोकदेखि रामचोकसम्मको १ किलोमिटरकै दुरीमा रिक्सा चालकले प्रतिव्यक्ति २० रुपैँया लिने गरेका छन् ।
जनकपुरधाम उपमहानगरपालिकाले निर्धारण गरेको भाडादर कार्यन्वयन हुन नसक्दा सेवाग्राहीले समस्या खेप्नु परेको छ । ‘हामीले भाडा दर निर्धारण गरेका छौँ तर अनुगमन हुन नसक्दा चालकहरुले मनोमानी भाडा अशुल्दै छन् । यसबारे हामी छिट्टै छलफल गर्नेछौँ,’ उपमहानगरकी उपप्रमुख रिता झाले भनिन् । उपमहानगरले ५ सय १ वटा अटोरिक्सा चलाउन सिफारिस गरी दर्ता बन्द गरिसकेको अवस्थामा रिक्साधनीहरुले यातायात व्यवस्था कार्यालय र सिडियो कार्यालयबाट सिफारिस लिएर रिक्सा चलाउन गरेको उनको भनाई छ ।
‘आवश्यक्तन अनुसार रिक्सा पर्याप्त देखेर हामीले दर्ता गर्न बन्द गर्यौँ तर अरु ठाउँबाट सिफारिस गराएर रिक्सा खरिद गरेकाले अटोरिक्सा छाडा भएको हो,’ उनले भनिन्, ‘इ रिक्सा सञ्चालनकालागि सिफारिस स्थानीय तहले दिनुपर्ने हो तर अरु अरुले पनि कुन आधारमा कसरी दिइराखेका छन हामीलाई जानकारी भएन् ।’
जनकपुरमा अहिले एक हजार भन्द बढी रिक्सा सञ्चालमा रहेका छन् । आवश्यक्ता भन्दा बढी रिक्सा सञ्चालनमा रहेकाले ट्राफिक व्यवस्थापन पनि ठूलो चुनौती रहेको धनुषाका ट्राफिक प्रहरी प्रमुख दिपक साहले बताए ।
‘अधिकांस अटो चालकलाई ट्राफिक नियम नै थाहा छैन, रिक्सा किनेर समान्य चलाउन सिकेर रिक्सा गुडाउँछन्’, प्रमुख साहले भने । एउटै रुटमा एकेपटक सयौँ रिक्सा चल्दा सडक नै जाम हुने अवस्था पनि देखिएको छ ।