पाँच नेपाली र चार विदेशी नागरिकले यो सिजनमा सगरमाथा आरोहण नै नगरी झूटो विवरण पेस गरेको फेला परेको छ। पर्यटन विभागकी निर्देशक मीरा आचार्यका अनुसार काठमाडौंमा रहेको प्रेस्टिज एड्भेन्चर प्राइभेट लिमिटेडबाट गएकामध्ये ९ जनाले जेठ १२ गते सगरमाथा आरोहण गरेको दाबी गर्दै प्रतिवेदन बुझाएका थिए।
विभागमा उजुरी परेपछि उनीहरूमाथि छानबिन गर्दा सगरमाथा आरोहण नगरेको प्रमाण भेटिएको उनले बताइन्। ‘आरोहणको प्रमाणपत्र माग गर्दै आएको प्रतिवेदनमा उनीहरूले सगरमाथा आरोहण गरेको दाबी गरे पनि प्रमाण जुटाउन सकेनन्,’ आचार्यले कान्तिपुरसँग भनिन्।
झूटो विवरण पेस गर्ने विदेशी आरोहीमा यूएईकी खादिजा मोहम्मद अली, भारतका शोभा बनवाला, विकास राना र अंकुश छन्। पर्यटन विभागले हरेक आरोहण दलसँग सम्पर्क अधिकृत पनि खटाउने गरेको छ। यी आरोहीका लागि विश्वबन्धु रेग्मीलाई सम्पर्क अधिकृत खटाइएको थियो। तर, रेग्मी आधार शिविरमा एक दिनमात्रै बसेर काठमाडौं फर्किएका थिए। उनले स्वास्थ्यमा समस्या आइपरेकाले आधार शिविरमा बस्न नसकेको बताए। चार विदेशी र ५ नेपाली शेर्पाले सगरमाथा आरोहण गरेको प्रतिवेदन रेग्मीले भृकुटीमण्डपस्थित विभागमा बुझाएका थिए। ‘मलाई फोनबाट सगरमाथा आरोहण गरेर फर्कियौं भनी टिपाए,’ उनले भने, ‘मलाई जे भनियो, त्यही प्रतिवेदनमा लेखेको हुँ।’ रेग्मीको जिम्मामा १० जना सदस्य थिए। तीमध्ये २ जना गएनन्, ८ जना मात्रै सगरमाथातर्फ लागेका थिए। ‘एक जनाले मात्रै चढेको रहेछ, बाँकीले चढ्दै चढेका रहेनछन्,’ उनले भने।
यसै विषयमा विभागले आरोहण जिम्मा लिएको कम्पनीलाई पनि सोधपुछ गरेको थियो। उक्त कम्पनीले मंगलबार चार विदेशी र ५ शेर्पाले सगरमाथा आरोहण नगरेको प्रतिवेदन बुझाएको छ। प्रेस्टिज एड्भेन्चरका लेखा अधिकृत यज्ञराज उप्रेतीले सम्पर्क अधिकृत र आफ्नो कम्पनीलाई विदेशी आरोहीले झुक्याएको बताए। ‘सगरमाथा चढ्यौं भने, हामीले उनीहरूको कुरा सुनेर विभागमा प्रतिवेदन बुझायौं तर प्रमाण दिन सकेनन्,’ उनले भने।
ती विदेशीले चुचुरोमा पुगेको तस्बिरलगायत प्रमाण पेस गर्न नसकेकाले विभागले उनीहरूको प्रतिवेदनलाई झूटो मान्दै कारबाही गर्ने भएको छ। विभागको कानुनअनुसार यसरी फर्जी प्रमाण पेस गर्नेलाई नेपालका हिमाल आरोहणमा रोक लगाइन्छ।
यसैबीच शेर्पाहरूले आफूहरूलाई नसोधी आरोहण गरेको भनी नाम टिपाइदिएको विभागलाई बयान दिएका छन्। यसपटकको सिजनमा ३ सय ८१ जनाले सलामी दस्तुर तिरेर सगरमाथा आरोहणको अनुमति लिएका थिए। यीमध्ये २ सय ८१ ले मात्रै आरोहण गरेका छन्। सलामी दस्तुर तिरेर आरोहणमा जाने ३ सय ७८ सहयोगी शेर्पाहरूले पनि सगरमाथा आरोहण गरेका छन्। दस्तुर तिरेर जाने स्वदेशी/विदेशी तथा शेर्पासहित यसपटकको वसन्तकालीन सिजनमा ६ सय ५९ ले सगरमाथा आरोहण गरे। यिनमा ५ सय ९४ पुरुष र ६५ महिला छन्। कान्तिपुरमा खबर छ।