सिन्धुपाल्चोक घुन्सा गाउँका १३ वर्षीय हीरा बम्जन दशैँअघि काठमाडौँ दिदीकहाँ आएका थिए। पहाडी गाउँभन्दा फरक रमझममा घुम्दाघुम्दै एक दिन उनी जरी भर्ने काम गर्न पुगे।
उनले भने, “महिनाको तीन हजार दिन्थ्यो, म भन्दा ठूला र म जस्तै अरु पनि धेरै काम गर्थे। दशैँमा घरफर्केपछि भने आमाले आउन दिनुभएन तर हातमा पैसा परेपछि फेरि त्यस्तै पैसा कमाउने लत बस्योे।’’
चार जना दिदनीबहिनी र दुई दाजुभाइमध्येका माइला उनलाई सहरमै बसेर कमाउने इच्छा छ। त्यही इच्छा पूरा गर्न यही जेठ २४ गते अरु तीनजना साथीसहित घरबाट भागेर बम्जन काठमाडौँ आइपुगेका हुन्। कक्षा ४ मा पढ्दै गरेका सोमबहादुर थिङ १२ वर्ष, कक्षा ५ मा पढ्ने बादल बम्जन १२ वर्ष र कान्छा गोले १२ वर्ष उनीसँगै काठमाडौँ आएका छन्।
बादल बम्जनले भने, “त्यही ट्वाक ट्वाके काम (जरी भर्ने) गर्ने भनेर आएको तर काम गर्ने ठाउँ नै फेला परेन।” चारैजनालाई मङ्गलबार बालबालिका खोजतलास समन्वय केन्द्रले उद्धार गर्यो। प्रहरीले पक्रेपछि काम गर्ने ठाउँ खोज्न नपाएको बालकहरूले बताए।
आएको दिन बस्ने ठाउँ नपाएर मकैबारीमा भोकभोकै रात बिताएको उनीहरूले बताए। यसअघि गाउँका केटाकेटी काठमाडौँ आएर जरी भर्ने, गलैँचा कारखानामा काम गर्ने गरेर पैसा कमाएर घर फर्केको देखासिकी गर्दै यसरी भागेर काठमाडौँ आएको बालबालिका बताउँछन्। बम्जनले हिरासँगै दशैँअघि आएको एक बालक गोकर्णको एक गाडी ग्यारेजमा काम गरिरहेको जानकारी दिए। “यहाँ दिनभरि घुम्न पाइन्छ अनि काम ग¥यो भने पैसा पनि पाइन्छ,” बम्जन भन्छन् , “गाउँ रमाइलो छैन, घुम्ने ठाउँ र राम्रो लुगा लाउन पनि पाइँदैन।”
बाह्र वर्ष हाराहारीका हुम्लाकी अमिता र बर्दियाकी सन्जु (नाम परिवर्तन) भने घरको आर्थिक अवस्था कमजोर भएकै कारण परिवारको जोहो टार्न काठमाडौँका ठूलाबडाका घरमा काम गर्छन्।
काम गरे वापत घरमालिकले वार्षिक खर्चसहित काठमाडौँको सरकारी स्कुलमा पढाइदिने सर्तमा आएका हुन्। १४ वर्षका रोशन थापा (नाम परिवर्तन) राजधानीको स्थानीय रुटमा चल्ने माइक्रो बसका कन्डक्टरको काम गर्छन्। ४ कक्षा पढ्न छाडेर उनी श्रम बजारमा पसेका हुन्।
बानेश्वर कोटेश्वर रुटको गाडीमा भे्टदा उनले भने, “पैसा कमाउनु परेन, गाउँमा बसेर के गर्ने, गुरुजी बन्न मन छ त्यो भन्दा पहिले कन्डक्टर बन्नुपर्छ रे।” सवारी चालक बन्न अब एसएलसी पास हुनैपर्छ भन्ने ज्ञान उनलाई छैन। उनीहरू जस्तै हजारौँ बालबालिका यतिबेला जोखिमपूर्ण बालश्रममा संलग्न छन्।
बुधबार विश्वभर बालश्रमविरुद्धको दिवस मनाउँदै गर्दा नेपालका बालबालिका भने श्रम गर्न बाध्य छन्। नेपालमा पनि यो वर्ष ‘बालबालिका श्रममा होइन सपना हेर्न रमाउँछन्’ भन्ने नाराका साथ बालश्रमविरुद्धको दिवस मनाइँदैछ।
होटल, पर्यटन, मनोरञ्जन क्षेत्र, घर, ईंटाभट्टा, जरी भर्ने, गलैँचा कारखाना, सवारी साधन, ग्योरज, उद्योगलगायतका क्षेत्रमा बालश्रमिक रहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।
बाल रक्षा अभियानले गरिरहेको अध्ययन अनुसार काठमाडौँको ३२ नम्बर वडामा १०६ बालबालिका जोखिमयुक्त फर्ममा श्रम गरिरहेका छन्। त्यस्तै, ३१ नम्बरमा २६ जना, १० मा ५४ जना काम गरिरहेका छन्। अभियन्ता कृष्ण खतिवडाले अन्य वडामा बालश्रमिक खोजी र पहिचान गर्ने काम भइरहेको बताए। गाेरखापत्र दैनिकमा खबर छ।