प्रहरीले पक्राउ गरेका विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ९ कार्यकर्तालाई अदालतमा उपस्थित गराउन उच्च अदालत पोखराले आदेश जारी गरेको छ ।
जंगबहादुर भण्डारी आक्रोशसमेतको हकमा पृथ्वीराज भण्डारीले सोमबार दर्ता गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनवाई गर्दै अदालतले उक्त मंगलबार आदेश गरेको रजिस्ट्रार जीतेन्द्रबाबु थपलियाले जानकारी दिए ।
जिल्ला अदालत र जिल्ला प्रहरी कार्यालयलाई विपक्षी बनाइ दायर भएको रिटमा प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश जगतप्रसाद श्रेष्ठको इजलाशले बन्दिसहित जेठ ३० गते बिहान ११ बजेभित्र उपस्थित हुन आदेश गरेको हो । पक्राउ परेकमामध्ये जंगबहादुर भण्डारी, प्रकाश बास्तोला, गगन परियार, सुजन सापकोटा, सन्तोष विक, काजी गुरुङ, आस्था नेपाली, राजन साउद र मीलन राई गरी ९ जनालाई अदालतमा उपस्थित गराउन आदेश भएको हो ।
गत शनिबार कास्कीको घान्द्रुकबाट पक्राउ परेकामध्ये ९ जनालाई राज्य विरुद्धको कसुरमा जिल्ला अदालतबाट म्याद थप भएको छ । बाँकी ९ जनाको हकमा सार्वजनिक मुद्दामा जिल्ला प्रशासन कार्यालय कास्कीबाट म्याद थप भएको छ । वसन्त अर्याल, देवी गुरुङ, बलराम परियार, प्रतिमा भण्डारी, सुनिता परियार, प्रमोद सिंह, दीपेन्द्र बुढा, रविन पौडेल र दीपेन्द्र परियारलाई सार्वजनिक मुद्दामा म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
‘यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिम बन्दिप्रत्यक्षीकरणको आदेश किन जारी गर्नु नपर्ने हो ? जारी गर्नु नपर्ने कानुनसम्मत आधार र कारण भए सो समेत खुलाइ यो आदेशसहितको सूचना प्राप्त भएपछि जेठ ३० गते बिहान ११ बजेभित्र बन्दिसहित उच्च सरकारी वकिल कार्यालयमार्फत् लिखित जवाफ लिई उपस्थित हुनु,’ आदेशमा उल्लेख छ । बन्दी प्रत्यक्षीकरण मुद्दामा निवेदकका तर्फबाट अधिवक्ता रोहितराज बास्तोला, नारायण पौडेल र मिनाकुमारी रानाभाटले बहस गरेका थिए ।
विप्लव निकट विद्यार्थी संगठनका नेता र कार्यकर्ता गरी १८ जनालाई प्रहरीले कास्कीको अन्नपूर्ण गाउँपालिका ११, उरीबाट शनिबार पक्राउ गरेको थियो । विप्लव समूहको गतिविधि बढेको सूचनाका आधारमा प्रहरीले निगरानी गरिरहेको र आमा समूहको भवनबाट साँझमा उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
एलआरपी अर्थात् लङ रुट पट्रोलिङ टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरूलाई शनिबार राति नै जिल्ला प्रहरी कार्यालय कास्कीमा ल्याइएको र थप अनुसन्धान भइरहेको एसपी कार्कीले जानकारी दिए । पक्राउ परेको टोलीबाट केही दस्तावेज बरामद भए पनि हात हतियार भने फेला परेको छैन ।