प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमार यादवले मुलुकमा पन्चायती शासनको अन्त्य भइसकेपनि अवशेष कायमै रहेको टिप्पणी गरेका छन् । विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताबारे मंगलवार भएको छलफलको क्रममा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मन्त्री यादवले ऐतिहासिक परिवर्तन भइसकेपनि व्यक्ति र व्यवस्था परिवर्तन नभएको बताए ।
‘गन्तन्त्रमा पनि पहिलाकैजस्तै शासन शैलीलाई निरन्तरता दिइएकाले देश यस्तो अवस्थामा पुगेको छ,’ मन्त्री यादवले भने, ‘संघीय सरकारको बजेटमा ६७ प्रतिशत चालुतर्फ बजेट छ र ३३ प्रतिशत मात्र बजेट विकास बजेट छ ।’
भ्रष्टचारीलाई नियन्त्रण गर्न सातवटै प्रदेशमध्ये प्रदेश २ ले मात्र संसदीय समिति गठन गर्न सकेको दावी गर्दै उनले राम्रो काम गर्दा विपक्षीले पनि सहयोग गरेको बताए । ‘भ्रष्टाचारसँग सम्बन्धीत जेजति कुरा आउँछ त्यसमा छानविन हुनुपर्छ । कहिलेकाहीँ मिडिया पनि छक्क पर्छन किनकी सही कुरामा हामी सबै एक हुन्छौँ,’ उनले भने, ‘संचारकर्मीले प्रश्न उठाउँछन केको खरिद बिक्रिमा डिल भएको छ तर त्यस्तो केही होइन् ।’
मन्त्री यादवले प्रदेश सरकार असफल भए असफलताका कारण सबै सांसद हुने जिकिर गरे । प्रदेश २ बाट सबैभन्दा बढी राजस्व् संकलन भएपनि संघीय सरकारले प्रदेश २ लाई उपेक्षा गरेकोप्रति उनले आक्रोस व्यक्त गरे । ‘मेरो आंकलन अनुसार ३० देखि ३३ प्रतिशत राजस्व आउँछ तर प्रदेशले २ प्रतिशत पाउँछ यसरी संघीयता बलियो हुन्छ ?’ गत आर्थिक वर्षमा राजर्षि जनक विश्वविद्यालयकालागि छुटयाइएको १ करोड कुन माध्यमबाट दिने जानकारी नभएपछि अन्तमा जनकपुर उपमहानगरलाई दिइएको उनले बताए ।