जिल्लामा शनिबार राति आएको हावाहुरीले विद्यालयका छाना उडाएको छ । विद्यालयका छाना उडाएपछि पठनपाठन प्रभावित भएको छ ।
हावाहुरीले पाटन नगरपालिका ९ मा रहेको सिद्धेश्वर मावि हुक्केडाँडाको तीनकोठे भवनको छाना उडाएको छ । हावाहुरीले छाना उडाउदा २ लाख ५० हजार रुपैयाँबराबरको क्षति भएको व्यवस्थापन समिति अध्यक्ष प्रेम भाटले जानकारी दिए ।
टिनको छाना उडाउँदा भित्र रहेका २६ बोरा सिमेन्ट, डेस्कबेन्चलगायत अन्य सामग्री पनि भिजेर काम नलाग्ने भएको उनले बताए । भाटका अनुसार कक्षा १, २ र ३ को कक्षाकोठा रहेका भवनको छाना उडाउँदा पठनपाठनसमेत प्रभावित भएको छ । २०१८ सालमा स्थापना भएको विद्यालयमा अहिले ३ सय ५ विद्यार्थी अध्ययनरत छन् । यहाँ कक्षा १० सम्म पढाइ हुन्छ ।
यस्तै हावाहुरीले पाटन नगरपालिका ८, खोडपेमा रहेको भगवती महिला बहुउद्देश्यीय कृषि सहकारी संस्थाको दुईकोठे टिनको छाना पनि उडाएको छ । साथै पाटनकै दलबहादुर विष्ट र गोपालसिंह महराको घरको छाना पनि हावाहुरीले उडाएको छ । -रासस