जनकपुरधाम उपमहानगरपालिकाकी उपमेयर रीताकुमारी मिश्रले असन्तुष्टि जनाउँदै विभिन्न पदबाट राजीनामा दिएकी छन् ।
उपमेयर मिश्रले तीनवटा समितिको संयोजक पदमा बसेपनि आफूलाई बिना कुनै जानकारी नै नदिइ काम भैरहेको भन्दै मेयर लालकिशोर साहसमक्ष शुक्रबार राजीनामा दिएकी हुन् । उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह, प्रमुख प्रशासकीय अधिकृत सीता परियार र कमिटीमा रहेका वडाअध्यक्षहरुको सिफारिसमा ती सबै काम भइरहेको उनको आरोप छ ।
उपमेयर मिश्रलाई एक्सन कमिटी, लामखुट्टे नियन्त्रण र रंग पेन्ट वितरण कमिटीको संयोजकको जिम्मेवारी दिइएको थियो । जनकपुरमा सडक विस्तारका लागि घरटहरा भत्काउन तथा तोडफोड गर्न उपमहानगरपालिकाले मिश्रको संयोजकत्वमा एक्सन कमिटी बनाएको थियो । ‘विगतमा भएको तोडफोडबारे मलाई केही जानकारी नै छैन्, तर कमिटीको संयोजक रहेकाले तोडफोड हुँदा भविष्यमा अदालतमा मुद्दा परे म फँस्छु ,’ उनले भनिन् । सडक विस्तारका क्रममा घरहरु तोडफोड हुँदा उपमहानगरपालिकाले रंगरोगनका लागि उपलब्ध गराएको निःशुल्क रंग कति वितरण गरिएको विषयमा आफुलाई जानकारी नरहेको मिश्रले उल्लेख गरिन् ।
यस्तै नगर क्षेत्रमा लामखुट्टे नियन्त्रण गर्न नाला तथा ढलहरुमा मोबिल छर्किने कामबारे आफुलाई केही जानकारी नरहेकाले भविष्यमा यस शिर्षकमा भ्रष्टाचार भए आफु फस्ने भएकोले राजीनामा दिएको उनले बताइन् ।