बर्दियामा पनि बिहीबार (हिजो) राति आएको हावाहुरीले बर्दियामा ३ सर्वसाधारण घाइते हुनुका साथै झन्डै ५० घरमा क्षति पुगेको छ । राजापुर नगरपालिका २ का २० वर्षीया अनु थारूको टाउकोमा चोट लागेको छ । सोही समयमै बाँसगढी नगरपालिका २७ वर्षीया सुनीता विक र उनका ५ वर्षीय छोरा नारायणको हात-खुट्टामा चोट लागेको प्रहरी नायब उपरीक्षक मदनजित महराले बताए ।
उनका अनुसार घाइते विक र थारूको कोहलपुर मेडिकल कलेज बाँकेमा उपचार भइरहेको छ । करिब १ घण्टा चलेको हुरीले जिल्लाको जनजीवन प्रभावित भएको छ । हावाहुरीको समयमा घरका जस्तापाता लागेर र घरको भित्ता ढलेर घाइते भएका हुन् ।
हावाहुरीले राजापुर नगरपालिका, बारबर्दिया नगरपालिका, मधुवन नगरपालिका, बाँसगढी नगरपालिका र गेरुवा गाउँपालिकामा बढी क्षति पुर्याएको छ । हावाहुरीबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेकाले यकिन तथ्यांक आउन बाँकी छ । हाल जिल्लाभर विद्युत् आपूर्ति ठप्प छ । टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए । -रासस