सगरमाथा सफाइ अभियान २०७६ अन्तर्गत ११ हजार केजी फोहर संकलन गरिएको छ।
सगरमाथा बेसक्याम्प, क्याम्प १ देखि ४ हुँदै साउथ कोलसम्म संकलन गरिएको ११ हजार केजी फोहर मध्ये गल्ने र सड्ने फोहरबाहेक अन्य १ हजार फोहर बुधबार काठमाडौ ल्याइएको छ। सगरमाथाको बेस क्याम्पबाट नेपाली सेनाको हेलिकप्टरबाट फोहोर ल्याईएको हो।
फोहर काठमाडौ ल्याए लगतै १ हजार किलो फोहोर ब्ल्यू ओष्ट टु भ्यालुलाई हस्तान्तरण गरिएको छ। खुम्बु पासाङ ल्हामु गाउँपालिकाको नेतृत्वमा गरिएको सरसफाइका क्रममा चारवटा शव पनि भेटिएको पर्यटन बिभागले जनाएको छ। सरसफाइ अभियानका क्रममा लक्ष्यभन्दा बढी फोहोर संकलन भएको बिभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिए। उनले अभियानका क्रममा सगरमाथा क्षेत्रको मौसम सफा भएकै कारण सोचेभन्दा बढि फोहर संकलन गर्न सकिने जानकारी दिए।
फोहर लिदै ब्ल्यू ओष्ट टु भ्यालुका प्रमुख कार्यकारी अधिकृत नविन विकास महर्जनले संकलन गरिएका फोहर भारत पठाइने बताए। शिशाहरु भने नेपालमा नै पुनप्रयोगमा ल्याईने जानकारी दिए।
गएको वैशाख एक गतेदेखि लुक्लाबाट खुम्बु पासाङ ल्हामु गाउँपालिकाको नेतृत्वमा संयुक्त रुपमा सफाइ अभियान सञ्चालन भएको थियो। अभियान अन्तर्गत बेस क्याम्प वरपरबाट ५ हजार केजी, साउथकोलबाट करिव २ हजार केजी, र क्याम्प २ र ३ बाट करिव ३ हजार फोहर संकलन गरिएकोमा त्यो भन्दा बढि फोहर संकलन भएको हो।