उद्योग, पर्यटन, वन र वातावरणका साथै जलवायु परिवर्तन, प्राकृतिक प्रकोपलगायत महत्वपूर्ण विषयमा अन्तरराष्ट्रिय वैज्ञानिकका अनुभव साटासाट गर्ने उद्देश्यले आजदेखि अन्तरराष्ट्रिय (सार्क) युवा वैज्ञानिक सम्मेलन शुरु गरिएको छ ।
त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागको समन्वय र प्रदेश नं ३ सरकार, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको आयोजनामा भएको सम्मेलनको आज पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले उद्घाटन गर्दै जलवायु परिवर्तन क्षेत्रमा देखिएको विविधताका बारेमा खोजमूलक अध्ययन गरी जलवायु परिवर्तन र विश्वव्यापी उष्णताका कारणले उत्पन्न समस्याको समधान गर्न सम्मेलनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए।
उनले युवा वैज्ञानिक पयालन रोकी देशभित्रै युवाले अनुसन्धान गर्नुपर्ने भन्दै अन्तरराष्ट्रिय क्षेत्रमा भएको वैज्ञानिक गतिविधिका बारेमा सम्मेलनले वृहत अध्ययन गर्न र आफ्ना अनुभव साटासाट गरेर युवा वैज्ञानिकलाई विज्ञानका क्षेत्रमा सहयोग पुग्ने भनाइ राखे।
सम्मेलनमा प्रदेश नं ३ का सभामुख सानुकुमार श्रेष्ठले सम्मेलनले वैज्ञानिक क्षेत्रमा भएका महत्वपूर्ण उपलब्धिका बारेमा छलफल गरी सरकारलाई ठोस नीति निर्माण गर्न सहयोग गर्नुपर्ने धारणा व्यक्त गरे । सम्मेलनमा प्रदेश नं ३ का उद्योगमन्त्री अरुण नेपालले सम्मेलनले प्रदेश सरकारलाई पर्यटन उद्योग तथा वैज्ञानिक क्षेत्रमा नीतिनिर्माण गर्न मार्ग निर्देशन गर्दै सम्मेलनबाट प्राप्त वैज्ञानिक सुझाव एवं अनुभव प्रदेश सरकारले प्राथमिकताका साथ कार्यान्वयन गर्ने बताए ।
त्रिविका शिक्षाध्यक्ष प्रा डा सुधा त्रिपाठीले सम्मेलन विश्वमा देखा परेका नवीनतम् चुनौतीको सामना गर्ने रचनात्मक उपायका बारेमा केन्द्रित हुने भन्दै प्राज्ञिक क्षेत्रमा महत्वपूर्ण योगदान हुनेसमेत उनको धारणा थियो ।
त्रिविका जल विभागका विभागीय प्रमुख डा दीपक अर्यालले सम्मेलनले युवा वैज्ञानिकको अन्तरराष्ट्रिय सञ्जाल निर्माण गरी सार्क क्षेत्रमा देखिएका विद्यमान समस्यालाई सम्बोधन गर्न, वैज्ञानिक क्षेत्रमा सहकार्य र समन्वय गर्ने उद्देश्यले आयोजना गरिएको बताए । सम्मेलनमा सार्क क्षेत्रका मुलुकसहित जर्मनी, फिनल्याण्ड, चीन र बेलायतलगायत देशका ५० जना युवा वैज्ञानिकको सहभागिता रहेको छ ।
दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा उद्योग, पर्यटन, वन, वातावरण साथै जलवायु परिवर्तन, प्राकृतिक प्रकोप लगायतका ५१ वटा कार्यपत्रले प्रस्तुत गरिने केन्द्रीय विभागका सहप्राध्यापक डा विनोद दवाडीले जानकारी दिए । रासस