अन्तरजातीय विवाह गरेका १५ दम्पतीलाई सम्मान गरिएको छ । चौधौं छुवाछूतमुक्त राष्ट्र घोषणा दिवसको अवसरमा संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले बेनीमा मंगलबार आयोजना गरेको कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो ।
समिति प्रमुख देवेन्द्रबहादुर केसी, बेनी नगरपालिका उपप्रमुख सञ्जु बरुवाल, प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी, मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालु, समिति संयोजक बलबहादुर विश्वकर्मालगायतले अन्तरजातीय विवाह गरेका दम्पतीलाई अभिनन्दन गरे ।
जातीय विभेद हटाउन अन्तरजातीय विवाहले सकरात्मक भूमिका निर्वाह गर्ने भएकाले उनीहरुको हौसलाका लागि सम्मान गरिएको सङ्घर्ष समिति संयोजक विश्वकर्माले जानकारी दिए । जिसस प्रमुख केसीले छुवाछूतलाई कानुनी रूपमा हटाइए पनि व्यवहारिक कार्यान्वयनका लागि सरोकारवालाले समाजमा जनचेतना फैलाउन आवश्यक रहेकामा जोड दिए ।
कार्यक्रममा पूर्वसभासद एवं नेकपा म्याग्दीका जिल्ला अध्यक्ष गोविन्द पौडेल, प्रजिअ अधिकारी, नेपाली कांग्रेस म्याग्दीका सचिव मीनबहादुर कार्कीलगायतले जातीय विभेद सामाजिक अपराध हुने भएकाले दोषीमाथि कानुनबमोजिम कारबाही हुनेमा जोड दिएका थिए ।
- रासस