बाच्छी र पाडी हुर्काउने किसानलाई गण्डकी प्रदेश सरकारले प्रतिगोटा १० हजार रुपैयाँ अनुदान दिने भएको छ । स्थानीय जातका गाई र भैंसीको नश्ल सुधार गरी दूध उत्पादनमा प्रदेशलाई आत्मनिर्भभर बनाउन यस्तो नीति लिइएको गण्डकी प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव दुर्गाप्रसाद दवाडीले बताए ।
उनका अनुसार ‘पाडीपाडी खाने, बाच्छाबाच्छी मार्ने’ चलन बढेको र दूधालु गाईभैसी बाहिरी मुलुकबाट ल्याउने क्रम पनि बढेकोले किसानलाई प्रोत्साहस्वरुप यो कार्यक्रम ल्याइएको हो । पाडापाडी र बाच्छाबाच्छी हुर्काउन धेरै झन्झट हुने, प्रशस्त दूध खुवाउनु पर्ने भएकाले किसानले अनेका खालका उपाय अपनाउँदै आएका छन् । जर्सी जातका बाच्छा सानैमा जंगल वा खुला ठाउँमा छाडिदिने गर्दा हिजो आज सहर मात्र हैन गाउँमा समेत छाडा चौपाया बढेका छन् ।
स्थानीय तहको सहयोगमा बाच्छी र पाडीको जन्म दर्ता गराउने त्यही प्रमाणपत्रको आधारमा किसानलाई अनुदान उपलब्ध गराइने जानकारी सचिव दवाडीले दिए । उनले भने,‘यसले किसान मात्र हैन, मुलुकलाई नै फाइदा हुन्छ, तर स्थानीय तहको सक्रिय सहयोग जरुरी हुन्छ । उनले धार्मिक पर्यटकको चहलपहल हुने मुस्ताङको मुक्तिनाथ क्षेत्रमा दूधका परिकार उपलब्ध गराउन किसान तयार रहे ढुवानी खर्च प्रदेश सरकारले बेहोर्ने घोषणा समेत गरे ।
विश्व दुग्ध दिवसको अवसर पारेर राष्ट्रिय व्यावसायिक पशुपालन तथा दुग्ध उत्पादन कृषक समाजले शनिबार पोखरामा गरेको कार्यक्रममा सचिव दवाडीले मोडेल फार्मको विवादले ठूलै रुप लिएकाले आगामी दिनमा सुधार गरेर जाने बताए । उनले भने,‘मोडेल फार्ममा कार्यविधिगत त्रुटि रहेछ, यसलाई सच्याएर जानेछौं । किसानको उमेर हद ४५ वर्ष राखिएकाले त्यो भन्दा बढी उमेर भएका किसानको फर्म उत्कृष्ट भए पनि दायरामा आउन नसकेको उनले बताए ।
कार्यक्रममा पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय गण्डकीका निर्देशक डा. मनबहादुर पुनले उत्पादन लागत कम गर्नतिर किसान लाग्नुपर्नेमा जोड दिए । पशुसेवा तालिम केन्द्र प्रमुख ग्रीष्म न्यौपानले सरकारको भनाइ र गराइमा एक रुपता नभएकाले उपलब्धि हुन नसकेको भनाइ राखे । सरकारले जति धेरै कुरा गरे पनि किसान भने लागत मूल्य भन्दा कममा दूध बेच्न वाध्य रहेको उनको भनाइ थियो । उनले भने, ‘खुलेआम बिक्री हुने चुरोट र रक्सीको मूल्य तोक्न सरकारलाई वास्ता छैन, तर किसानका उत्पादनमा सरकार मूल्य तोक्न तयार हुन्छ, यसैका कारण किसान मर्कामा छन् ।’ गण्डकीमा दूध उत्पादनको अवस्था सन्तोषजनक रहे पनि प्रयोग अझै बढाउनुपर्ने देखिएको उनले बताए ।
पशु प्रजनन केन्द्र प्रमुख कृष्णकान्त न्यौपानेले अहिले नेपाली बजारमा उत्पादित १५ प्रतिशत दूध मात्र संगठित रुपमा बजारमा आउने गरेको बताए । ३५ प्रतिशत दूध असंगठित रुपमा बजारमा आउने र बाँकी ५० प्रतिशत घरायसी रुपमै प्रयोग हुने गरेको बताए । कुल गार्हस्थ उत्पादनमा कृषिको योगदान ३० प्रतिशत हाराहारीमा छ । कृषिको योगदानमध्ये १० प्रतिशत त दूधले मात्र ओगटेको छ । तर सरकारले यसमा लगानी भने अत्यन्त कम गरेको उनको भनाइ थियो ।
कार्यक्रममा सप्तगण्डकी दुग्ध उत्पादन समूहका अध्यक्ष पुण्यप्रसाद पौडेल, पशु विकास अधिकृत सहदेव पौडेल, किसानहरु शोभाखर भण्डारी, नवराज बराल, सूर्यप्रसाद अधिकारी लगायतले किसानका समस्याका बारेमा भनाइ राखेका थिए ।
किसान र पत्रकारलाई सम्मान
विश्व दुग्ध दिवसको अवसर पारेर राष्ट्रिय व्यावसायिक पशुपालन तथा दुग्ध उत्पादन कृषक समाज गण्डकीले उत्कृष्ट ३ किसानलाई सम्मान गरेको छ । किसानत्रय जीवनप्रसाद अधिकारी, ओमप्रकाश अधिकारी र शोभाखर भण्डारीलाई समाजले जनही ११ हजार १ सय ११ रुपैयाँले सम्मान गरेको हो । किसानका क्षेत्रमा कलम चलाउने पत्रकार सन्देश श्रेष्ठ र पशु प्राविधि शेरबहादुर सारुमगरलाई पनि समाजले नगद ११ हजार १ सय ११ रुपैयाँसहित सम्मान गरेको छ ।