कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा दोस्रो अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्व सुरु भएको छ । अन्नपूर्ण आधारशिविरको पूर्वाधार विकास गरी त्यस क्षेत्रको समग्र पर्यटन प्रवद्र्धन गर्न आयोजित महोत्सव जेठ २० गतेसम्म चल्ने आयोजनक संस्था अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष ललित गुरुङले बताए ।
महोत्सव द्घाटन गर्दै नेपाली कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले हिमाल र पहाडीको कनेक्टिभिटीको विकास र विस्तार हुन सके समग्र नेपालको पर्यटन उद्योग फस्टाउने बताए । ‘अझै पनि तराईमा बस्नेले हिमालको भूगोल र पहाडमा बस्ने तराईको भूगोलप्रति अपरिचित हुनुपर्ने परिस्थितिको अन्त्यका लागि कनेक्टिभिटी हुन जरुरी छ,’ नेता गच्छेदारले भने । उनले नेपाल सुन्दर देश भएको चर्चा गर्दै भारतीय पर्यटक र चिनियाँ पर्यटकको बढाउन सके समृद्ध नेपालको परिकल्पना साकार हुने विश्वास व्यक्त गरे ।
गण्डकी प्रदेशका सांसद राजीव पहारीले घान्द्रुकमा विकासका पूर्वाधारको सुरुआत भइसकेको र अबका केही वर्षभित्र चिल्ला र काला सडकमा सरर्रर गुड्न सकिने बताए । घान्द्रुकको सडक कालोपत्र भएपछि यस क्षेत्रमा आन्तरिक पर्यटकको ओइरो लाग्ने सांसद पहारीको विश्वास छ ।
कांग्रेस नेता शुक्रराज शर्माले घान्द्रुकको मौलिक पहिचान नै एकता भएकाले सम्पूर्ण घान्द्रुकबासी एक भई पर्यटन प्रवद्र्धनमा लाग्न सुझाव दिए । अन्नपूर्ण सन्चुरी पर्यटन महोत्सवका संयोजक ललित गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस कास्कीका उपसभापति आइबहादुर गुरुङ, छोम्रोङ पर्यटन व्यवस्थापन समितिका अध्यक्ष बुद्धिमान गुरुङ, रोधीं क्लब घान्द्रुकका अध्यक्ष पूर्णप्रसाद गुरुङ, महोत्सव मुल व्यवस्थापन समितिका सहसंयोजक भुवनेश्वर गुरुङ, महासचिव दिलीप गुरुङ लगायतले महोत्सवका उपलब्धिबारे चर्चा गरे ।
४ दिनसम्म चल्ने महोत्सवमा भलिबल र बास्केटबल खेलका प्रारम्भिक खेलहरु सम्पन्न भएका छन्् । यसअघि प्रमुख अतिथि गच्छदारले खेलका मुख्य रेफ्रिलाई बल हस्तान्तरण गरि महोत्सवको उद्घाटन गरेका थिए । महोत्सव अवधिभर घान्द्रुक पुग्ने पाहुनालाई सस्तो प्याकेजको व्यवस्था गरिएको छ । एक जनालाई नौ सय नेपाली रुपियाँमा बेलुकाको खाना, एक रातको बास र विहानको खाजासहितको छुट दिइने व्यवस्था मिलाइएको छ ।
पत्रकार पौडेल र परियार सम्मानित
अन्नपूर्ण सेन्चुरी पर्यटन समितिद्धारा सञ्चालित अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार राससकर्मी बासुदेव पौडेल र कान्तिपुरकर्मी दीपक परियारलाई संयुक्त रूपमा प्रदान गरिएको छ । अन्नपूर्ण क्षेत्रको पर्यटन प्रवद्र्धनमा सञ्चारमाध्यमबाट विशेष भूमिका खेलेवापत सो पुरस्कार प्रदान गरिएको छ । पुरस्कारको राशि रु २५ हजार नगद, दोसल्ला र सम्मानपत्र रहेको छ । यो पहिलो पुरस्कार हो । अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको समुद्घाटन समारोहका सन्दर्भमा नेपाली काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले सो पुरस्कार पत्रकारद्वय पौडेल र परियारलाई प्रदान गरे ।
अन्नपूर्ण गाउँपालिकाको पर्यटन प्रवद्र्धन गर्न सञ्चारमाध्यमबाट पर्यटनसम्बन्धी समाचार सम्प्रेषण गर्ने पत्रकारलाई वार्षिक रुपमा पुरस्कृत गर्न यसैवर्षदेखि यो पुरस्कार प्रदान गर्ने गरी नेपाल पत्रकार महासंघ कास्कीका पूर्वउपाध्यक्ष राजबहादुर गुरुङको संयोजकत्वमा ५ सदस्यीय प्रतिभा छनौट समिति गठन गरेको थियो । समितिमा पत्रकार एवं अधिवक्ता हरिप्रसाद भट्टराई, समितिका मिडिया संयोजक टंकराज अधिकारी, समितिका सल्लाहकार यमनाथ सापकोटा र समितिका अध्यक्ष ललित गुरुङ सदस्य रहेका थिए ।
प्रतिभा छनौट समितिका संयोजक राजबहादुर गुरुङले अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कारले आमसञ्चारकर्मीको हौसला थपेको बताउँदै पुरस्कृत प्रतिभाको थप हौसला अभिवृद्धि भई अन्नपूर्ण क्षेत्रको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्न सक्ने विश्वास व्यक्त गरे ।
महोत्सव प्रचार संयोजक एवं प्रतिभा छनौट समितिका सदस्य टंकराज अधिकारीले पुरस्कृत प्रतिभाको व्यक्तितव र कृतित्वको बारेमा चर्चा गर्दै अन्नपूर्णको पर्यटन प्रवद्र्धनमा वहाँहरुको भूमिका अझ सशक्त हुने विश्वास व्यक्त गरे ।
पुरस्कृत प्रतिभा बासुदेव पौडले पुरस्कार प्राप्तिले आफ्नो दायित्व थपिएको बताउँदै भावी दिनमा अझ बढी समाचार लेख्न प्ररेणा मिलेको बताए । पौडेल विगत १३ वर्षदेखि र परियार विगत १२ वर्षदेखि पत्रकारितामा क्रियाशील छन् ।
सोही समारोहमा पोखरेली मूर्तिकार विष्णुप्रसाद बराल पनि सम्मानित भएका छन् । अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले अन्नपूर्ण आधारशिविरमा स्थापना गर्न लागेको फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको अर्धकदको शालिक कुशल शिल्पीद्वारा निर्माण गरेवापत सम्मान गरिएको हो ।