देशमा भ्रष्टाचार बढिरहेको भन्दै राष्ट्रिय जनमुक्ति पार्टीले भ्रष्टाचार विरुद्ध राष्ट्रिय अभियान सुरु गरेको छ । भ्रष्टाचार विरुद्ध तीन बुंदे माग राख्दै जनमुक्तिले बुधबारदेखि सातैवटा प्रदेशमा अभियान सुरु गरेको पार्टीका केन्द्रीय सचिव सूर्य कुमार सारु मगरले बताए ।
भ्रष्टाचारलाई देशद्रोह सरहको अपराध घोषणा गरी भ्रष्टाचार गर्नेलाई कम्तीमा आजीवन जन्मकैद र सम्पत्ति राष्ट्रियकरण गर्ने कानूनी व्यवस्था हुनुपर्ने, भ्रष्टाचार सम्बन्धि मुद्दाको छिटोछरितो ढंगले टुंगो लगाउने सम्पूर्ण अधिकार सहितको स्वायत्त विशेष अदालतको संवैधानिक व्यवस्था गर्न र पञ्चायती व्यवस्था देखि हाल सम्मका भ्रष्टाचार प्रकरणमा र उच्च पदस्थ व्यक्तिहरुको सम्पत्ति बारे स्वतन्त्र ढंगले छानबिन गर्न शक्तिशाली नागरिक छानबिन आयोग गठन गर्न जनमुक्तिले माग गर्दै अभियान सुरु गरेको छ ।
सोही अनुसार राष्ट्रिय जनमुक्ति पार्टी ५ नम्बर प्रदेश समितिको आयोजनामा रुपन्देहीको भैरहवामा घोषणासभा तथा हस्ताक्षर कार्यक्रम भएको छ । पार्टी जिल्ला कार्यसमिति, रुपन्देहीको व्यवस्थापनमा भैरहवाको बुद्धचोक देखि सुरु भएको विरोध रयाली मिलनचोकमा पुगेर सभामा परिणत भएको थियो । रयाली सहभागिहरुले अधिकार सम्पन्न विशेष अदालत गठन गर, भ्रष्टाचारलाई देशद्रोह सरहको अपराध घोषणा गर, भ्रष्टाचार विरुद्ध राष्ट्रिय अभियानमा सहभागि बनौं, भ्रष्टाचार देशद्रोह हो, भ्रष्टाचारको अन्त्य गरौं, राष्ट्रिय जनमुक्ति जिन्दाबाद लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए । त्यस्तै अभियानमा ऐक्वद्धता जनाउँदै स्वतस्फुत रुपमा नागरिकहरुले हस्ताक्षर समेत गरेका थिए ।
सभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय महासचिव तथा भ्रष्टाचार विरुद्ध राष्ट्रिय अभियानका संयोजक केशव सूर्यवंशीले कुनै शहरमा मौसमी आन्दोलन गरेर मात्र भ्रष्टाचारको अन्त्य हुँदैन भन्ने महसुस गरेर सशक्त रुपमा जनदबाब सिर्जना गर्ने उद्धेश्यले पार्टीले भ्रष्टाचार विरुद्ध अभियान सुरु गरेको बताए ।
त्यस्तै पार्टीका केन्द्रीय उपमहासचिव टोप अस्लामी भ्रष्टाचार विरुद्ध सबैले हातेमालो गर्नुपर्ने बताए । उनले मुलुकमा समृद्धिको रटान दिइरहेको र त्यसको विपरीत भ्रष्टाचार पनि त्यत्तिकै मौलाइरहेकोले भ्रष्टाचार भएसम्म मुलुकमा समृद्धि आउन नसक्ने बताए । सो अवसरमा पार्टिका नेताहरु झम वहादुर गुरुग, गिता सारु लगायतले बोलेका थिए ।