विभिन्न घटना तथा दुर्घटनामा परी बैतडीमा एक साताको अवधिमा १० जनाको मृत्यु भएको छ । सबैभन्दा बढी ५ जनाको सवारी दुर्घटनामा ज्यान गएको बैतडीका प्रहरी प्रवक्ता रवीन्द्र चन्दले जानकारी दिए ।
यस्तै तीन जनाको आगोमा जलेर मृत्यु भएको छ भने २ जनाले आत्महत्या गरेका छन् । जेठ ४ गते शनिबारदेखि जेठ ९ गते बिहीबारसम्मको प्रहरी तथ्याङ्कले उक्त सङ्ख्यामा मृत्यु भएको देखिएको हो ।
बिहीबार गुडिरहेको जिपबाट हाम फाल्दा पञ्चेश्वर गाउँपालिका ६ का ४० वर्षीय राज कोलीको मृत्यु हो । गिरेगडाबाट देहीमाण्डौँतर्फ आइरहेको म.१ज ११९ नम्बर जिपपछाडि सवार कोलीले पार्सा भन्ने ठाउँमा अर्को गाडीलाई साइड दिन ब्याक गर्दा हाम फालेको बताइएको छ ।
जेठ ८ गते राति आगोमा जलेर पुर्चौडी नगरपालिका ५, कुवाकोटका ४५ वर्षीय करे लुहार उनकी ४० वर्षीया श्रीमती विन्दा र ८ वर्षीय छोरा मनोजको मृत्यु भएको छ । पुर्चौडी नगरपालिका ५ कुवाकोट घर भई पुर्चौडी नगरपालिका ७ बसपार्कमा टहरा बनाई बस्दै आएका र राति टहरोमा आगलागी हुँदा उनीहरुको मृत्यु भएको हो । जेठ ६ गते रुखमा झुन्डिएर दशरथचन्द नगरपालिका १, गुरुखोलाकी २२ वर्षीया रञ्जु भट्टले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
जेठ ५ गते दशरथचन्द नगरपालिका ११, नानीगाड भन्ने स्थानमा जिप दुर्घटनामा दशरथचन्द नगरपालिकाका ६० वर्षीय हीराबल्ल भट्ट, ५३ वर्षीय लालमणि, ५० वर्षीय नारुली भट्टको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा सख्त घाइते ४५ वर्षीय प्रकाश भट्टको उपचारको क्रममा मृत्यु भएको थियो ।
जेठ ४ गते पाटन नगरपालिका १०, हतासका ७५ वर्षीय प्रमानन्द भट्टको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । यसैबीच जेठ १ गतेदेखिको तथ्याङ्क हेर्ने हो भने बैतडीमा ११ जनाको ज्यान गएको छ । जेठ १ गते मेलौली नगरपालिका ७, बनालीकी १९ वर्षीया सावित्री चन्द पनि झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।
बैतडीमा सवारी दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या बढी छ । सवारी दुर्घटना बढीजसो चालककै लापर्वाहीले हुने गरेका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ट्राफिक नियममा कडाइ तथा प्रहरीले चालकलाई सचेतना कक्षा दिँदै आएको भए पनि सवारी दुर्घटनामा कमी आउन नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक आकाश रावलको भनाइ रहेको छ ।
साथै आत्महत्याका घटना पनि बढी देखिएका छन् । व्यक्तिगत कारण, मानसिक समस्या, सञ्चार प्रविधिको दुरुपयोगलगायत कारणले आत्महत्याका घटना बढ्दै गएका प्रहरीले जनाएको छ । आत्महत्याको घटना वृद्धि भएकाले प्रहरीले जिल्लाका विभिन्न विद्यालयमा सचेतनाका कार्यक्रम सञ्चालन गर्न प्रहरी एकाइबाट काम भइरहेको प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीको भनाइ थियो ।
-रासस