निःशुल्क सेवा दिएबापत निजी अस्पताललाई सरकारले करोडौं रुपैया भुक्तानी नदिएको रहस्य खुलेको छ । गैरसरकारी क्षेत्रबाट सञ्चालित अस्पतालका सञ्चालकहरुले सरकारले दिनुपर्ने भुक्तानी नपाउदा सेवा प्रदान गर्न नै समस्या भएको गुनासो पत्रकार सम्मेलन गरेपछि रहस्य खुलेको हो ।
बैशाखदेखि विपन्न वर्गलाइ मृगौलाको डायलाईसिस लगायतका रोगहरुमा एक लाख सम्मको निःशुल्क उपचार सेवा गराएवापत सरकारले दिनुपर्ने भुक्तानी समयमा नपाएपछि उनीहरु सरकारी रवैयाको विरोधमा उत्रिएका हुन् । उनीहरुले तत्काल रकम उपलव्ध नभए अबका विरामीको उपचार गर्न नसक्ने पनि चेतावनी दिएका छन् ।
सरकारवाट ७ महिनादेखिको भुक्तानी रोकिएको भन्दै बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पताल, भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज, रुपन्देहीकै क्रिमसन अस्पताल, भैरहवाको सिद्धार्थनगर सिटी हस्पिटल, वाकेको नेपालगञ्ज मेडिकल कलेजका सञ्चालकले बुटवलमा संयुक्त पत्रकार सम्मेलन गरेका हुन् र उनीहरुले बिरामीको उपचार गरे बापत सरकारबाट पाउनु पर्ने रकम नपाएको भन्दै सरकारी ढिलासुस्तीको आलोचना गरे । उनीहरुले गत वैशाख महिनासम्मको सोधभर्ना वापत झण्डै साढे आठ करोड रुपैयाँ भुक्तानी हुन बाँकी रहेको बताए ।
जसमध्ये सबैभन्दा धेरै गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवललाई ४ करोड ४७ लाख रुपैया भुक्तानी गर्न बांकि रहेको छ ।
त्यसैगरी युनिभर्सल मेडिकल कलेजले १ करोड ३६ लाख, क्रिमसन अस्पताल मणिग्रामले १ करोड ३५ लाख, नेपालगञ्ज मेडिकल कलेजले ७० लाख र सिद्धार्थनगर सिटी अस्पतालले ५८ लाख गरि ८ करोड ४६ लाख रुपैयाँ सोधभर्ना हुन बाँकी रहेको बताईएको छ ।
पत्रकार सम्मेलनमा मुटु अस्पतालका अध्यक्ष एजाज आलमले नेपाल सरकारले विपन्न नागरिकलाई मृगौलाको डायलाईसिस, मुटु, क्यान्सर, स्पाईनल इन्जुरी, हेड इन्जुरी, सीकलसेल, अल्जाइमर, पार्किङसन रोगका लागि एक लाख रुपैया सम्मको निशुल्क उपचार सेवा उपलब्ध गराईरहेको तर त्यस बापतको रकम आफुहरुले पाउन बाँकी रहेको बताए ।
विभिन्न ८० वटा अस्पतालबाट सेवा संचालन भईरहेको जनाउदै उनले प्रदेश नं. ५ मा १२ वटा अस्पतलाबाट विपन्न वर्गका नागरिकहरुको लागि निशुल्क सेवा प्रदान भईरहेको उल्लेख गरे ।
सरकारले भुक्तानी गर्नुपर्ने रकम रोकिएका कारण अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी एवं अन्य कर्मचारीको तलव तथा विरामीको लागि प्रयोग हुने औषधी लगायतका अन्य सामग्रीहरुको बिल भुक्तानी दिन कठिनाई भएको क्रिमसन अस्पतालका सञ्चालक सुरज भट्टराईले बताए ।