महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकका क्षेत्रमा बजेट वृद्धि आवश्यक रहेको बताएकी छिन् ।
सिंहदरबारमा शुक्रबार बसेको महिला तथा सामाजिक समितिको बैठकमा उनले महिला बालबालिका र ज्येष्ठ नागरिकको जीवनयापन सहज बनाउन सो क्षेत्रको बजेट बृद्धि हुनुपर्ने बताएकी हुन् । मन्त्री थापाले बालबालिकासम्बन्धी ऐन २०७५ प्रभावकारी कार्यान्वयनका लागि विनियमावली ल्याउन लागिएको पनि जानकारी दिइन् । एकीकृत बालगृह सञ्चालन मापदण्ड लागू गरिने र तीनै तहमा रहने गरी बालअधिकार परिषद्, प्रदेश बालअधिकार समिति र स्थानीय बालअधिकार समिति गठनसमेत हुने उनले बताइन् । उनले गृह मन्त्रालयअन्तर्गत रहेको बालबालिकाको हितमा कार्यरत नेपाल बालसंगठनलाई महिला मन्त्रालयअन्तर्गत ल्याउन आवश्यक रहेको बताइन् ।
बैठकमा समिति सदस्यहरुले वृद्धाश्रम खोल्ने प्रवृत्तिलाई अन्त्य गरी वृद्धवृद्धालाई घरपरिवारमा नै राख्नुपर्ने, बाल संगठनको सञ्चालन जिल्ला समन्वय समितिअन्तर्गत हुनुपर्ने धारणा राखे । बैठकले बालबालिकाको अधिकारलाई ख्याल गर्दे उचित संरक्षण गर्न गराउन मन्त्रालयलाई निर्देशन दिएको छ । त्यस्तै नयाँ ऐन र मापदण्ड नवनुन्जेल नया बालगृह खोल्ने कार्य नगराउन पनि बैठकले मन्त्रालयलाई निर्देशन दिएको छ ।