काठमाडौंको भोटाहिटीस्थित नेपालको सबभन्दा पूरानो ‘दरबार हाइस्कूल’को पुनःनिर्माणको मुख्य काम सकिएको छ । दरबार हाइस्कुल पुनर्निर्माण चिनियाँ सरकारको सहयोगमा भएको हो ।
चीनको सांघाई कन्स्ट्रक्सन ग्रुपले चिनियाँ र नेपाली कामदारको सहयोगमा पुनर्निर्माण गरेको हो । बिद्यालयको निर्माणका बारेमा जानकारी दिन शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले छोटो समयमा नै चिनियाँ कम्पनीले स्कूल पुनर्निर्माण गरेको बताए । उनका अनुसार दरबार हाइस्कूलसँगै सिन्धुपाञ्चोकमा दुई, रसुवामा दुई र दोलखामा दुई स्कूलको पुनर्निर्माण चिनियाँ सरकारको सहयोगमा भइरहेका छन् । चीनले भूकम्पपछि २५ वटा परियोजनामध्ये छ वटाको काम सम्पन्न भइसकेका छन् ।
नेपालका लागि चिनिया राजदूत हाउ याङकीले नौ महीनामा नै स्कूल पुनर्निर्माण सकिएको बताइन् । उनले भूकम्पबाट भत्किएपछि विद्यार्थीले स्कूलमा पढ्न नपाएकाले चाँडै नै कक्षा कोठामा पढ्ने वातावरण बनाउन पुनर्निर्माण दु्रतगतिमा गरिएको बताइन् ।
बिद्यालय पुनःनिर्माण हुन थालेपछि विद्यार्थी अहिले प्रदर्शनीमार्ग्स्थित वाल्मीकि क्याम्पस हातामा बनाइएको टहरामा पढिरहेका छन् । १९१० मा स्थापना भएको दरबार स्कूलमा गत विसं २०७२ को भूकम्पका कारण क्षति पुगेको थियो । प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) का प्रमुख इमनारायण श्रेष्ठले रु ८० करोड लगानीमा उक्त स्कूलको पुनःनिर्माण गर्न थालेको बताए ।